कामना सेवा विकास बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
१८ साउन, काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशन गरेकाे विवरण अनुसार बैंककाे खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
समीक्षा अवधि बैंकले ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.९३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ भने वितरण योग्य प्रतिसेयर आम्दानी १ रुपैयाँ ७७ पैसा रहेको छ। बैंकको सञ्चालन मुनाफा २०.०४ प्रतिशतले घटेर ६९ करोड १५ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ८६ करोड ४८ लाख रुपैयाँमा सीमित थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकले ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। याे अवधिमा बैंककाे बैंकको खराब कर्जा बढेर २.९८ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ५० करोड ३ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसा घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ। अघिल्लो वर्ष बैंकको ईपीएस १८.७८ रुपैयाँ थियो। समीक्षा अवधिमा बैंककाे पीई रेसियो २४.८८ गुणा र प्रतिसेयर नेटवर्थ १४६.४६ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १०:५०