नेपाल इन्भेष्टमेण्ट मेगाको खुद नाफा १ अर्ब १८ करोड, कस्तो छ अन्य वित्तीय सूचक ?
१५ कात्तिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा छलाङ मारेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्त (पहिलो त्रैमास) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
याे अवधिमा बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब २५ करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंककाे सञ्चालन मुनाफा १ अर्ब ५१ करोड २ लाख रुपैयाँमा सीमित थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ०.८८ प्रतिशतले बढेकाे छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर ३ अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६०.८१ प्रतिशतले घटेर १ अर्ब ९ करोड ७३ लाख ९३ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ८० करोड ४ लाख ३१ हजार रुपैयाँ थियो । यस अवधिमा बैंकको ब्याज आम्दानी ८ अर्ब ३४ करोड ३ लाखबाट घटेर ७ अर्ब ४१ करोड ७१ लाख रुपैयाँमा झरेको छ भने ब्याज खर्च ५ अर्ब ९ करोड ७१ लाखबाट घटेर ४ अर्ब १४ करोड ५४ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको कुल निष्कृय कर्जा (एनपीएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ६.६३ प्रतिशतबाट बढेर चालु आवको सोही अवधिमा ८.८७ प्रतिशत पुगेको छ । यद्यपि खुद निष्कृय कर्जा भने १.४६ प्रतिशतबाट केही सुधार भई १.३७ प्रतिशतमा झरेको छ ।
हाल बैंककाे ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।चालु आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ५ अर्ब १६ करोड १६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नाफामा आएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५३ पैसाबाट बढेर १३ रुपैयाँ ८५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ८८ पैसा रहेकाे छ ।
प्रकाशित मिति : November 1, 2026 at 10:58 am










