ग्लोबल आइएमई बैंकको नाफा २४.५० प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?
१५ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २४.५० प्रतिशतले वृद्धि भई २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज ५१.६९ प्रतिशतले घटेर ४८ करोड ८३ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । जुन गत आर्थिक वर्षको सोही पहिलो त्रैमासमा १ अर्ब १ करोड ९ लाख ८८ हजार रुपैयाँ रहेको थियो । याे अवधिमा बैंककाे सञ्चालन मुनाफा ३५.९० प्रतिशतले बढेर ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ पुगेको हो । याे बैंकको खुद ब्याज आम्दानी १.४५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । बैंककाे वितरणयोग्य मुनाफा २ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद फि तथा कमिसन आम्दानी ३४.५० प्रतिशतले बढेर १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको फि तथा कमिसन आम्दानी ९० करोड ७६ लाख ३४ हजार रुपैयाँ मात्र थियो । बैंकको कुल निष्कृय कर्जा गत आर्थिक वर्षको पहिलो त्रैमासको ४.९८ प्रतिशतबाट घटेर चालु आवको सोही अवधिमा ४.७९ प्रतिशतमा झरेको छ । त्यस्तै खुद निष्कृय कर्जा पनि ०.९५ प्रतिशतबाट घटेर ०.६० प्रतिशतमा झरेको छ ।
३९ अर्ब ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोष २७ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट बढेर २३ रुपैयाँ ३५ पैसा कायम भएको छ । मूल्य आम्दानी अनुपात १०.०८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा रहेकाे छ ।
प्रकाशित मिति : November 1, 2026 at 10:41 am










