२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सामाजिक अराजकताले राज्य दिनप्रतिदिन कमजोर भयोः महासचिव पोखरेल

१४ साउन, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्य कमजोर हुनुको दोष सामाजिक अराजकतालाई दिएका छन । शनिबार राति सामाजिक सञ्जाल मार्फत राज्य कमजोर हुनुका कारण सार्वजनिक गर्दै बहसको निम्तो दिएका महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले राज्य दिनप्रतिदिन कमजोर भइरहेको उल्लेख गरेका छन ।

महासचिव पोखरेलले लामो समय नेपालका राजनीतिक दलहरुले राज्यसत्ताका विरुद्ध संघर्ष गर्नु परेका कारणले नेपाली समाज नै राज्यसत्ताको विपक्षी जस्तो वन्न पुगेको पनि बताएका छन । उनले नेपाल राष्ट्रको विकास र समृद्धिका लागि राज्य हाम्रो हो भन्ने साझा मनोविज्ञानको विकास गर्न जरुरी रहेको पनि बताएका छन ।

उनले वर्गिय समाजमा राज्य कमजोर हुने र नागरिक बलियो हुने सम्भावना नरहने भन्दै बलियो राज्यको निर्माणका लागि बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुको विकास अपरिहार्य रहेको बताएका छन । महासचिव पोखरेलले नेपालीको मौलिक संस्कृतिमा भइरहेको विघटनले राज्यलाई थप कमजोर बनाइरहेको पनि उल्लेख गरेका छन ।

पोखरेलले वर्तमान सरकारको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीतिले चरम आर्थिक संकट सिर्जना भएको र देशवाट ठुलो संख्यामा नागरिकहरु वैदेशिक रोजगारीमा पलायन भइरहेका उल्लेख गरेका छन । उनले भनेका छन, ‘जवसम्म हामीले मुलुक भित्रको श्रमशक्तिलाई उद्यमशीलता र रोजगारीका माध्यमवाट राष्ट्रनिर्माणको काममा लगाउन सक्तैनौ तवसम्म विकास र समृद्धिको कुरा कोरा कल्पना मात्र हुनेछ । आउनुहोस् विकास र समृद्धिको वाटोमा मुलुकलाई कसरी अघि वढाउन सकिन्छ विषयमा केन्द्रीत भएर राजनीतिक विमर्श गरौ । सही राजनीति नै समग्र नीतिहरुको नीति हो ।’

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार ०९:३०