आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला, प्रतिकित्ता कति ?
२१ असार, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज असार २१ गतेदेखि बिक्री खुला गरिएको छ। कम्पनीले यसअघि सर्वसाधारणका लागि हिजो (असार २० गते)बाट आवेदन खुला गरिने जनाएको थियो। तर, प्राविधिक कारण १ दिन ढिला गरी कम्पनीले आज असार २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरीसकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आईपीओमा छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
प्रकाशित मिति : 09:57









