२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रितम सिंहले प्रधानमन्त्री बनाएका प्रचण्डलाई विष्णु रिमालका गम्भीर प्रश्न

२० असार, काठमाडौँ । प्रितम सिंहले प्रधानमन्त्री बनाएको बताउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले केही गम्भीर प्रश्न गरेका छन । सामाजिक सञ्जालको प्रयोग गर्दै उपमहासचिव रिमालले प्रितम सिंहले प्रधानमन्त्री बनाएका प्रचण्डलाई प्रश्न भन्दै केही गम्भीर सवाल उब्जाएका छन । यसअघि प्रधानमन्त्री प्रचण्डले द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपालको विमोचनमा आफूलाइ प्रधानमन्त्री बनाउन प्रितम सिंह खुब भारत धाएको बताएका थिए ।

रिमालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विभिन्न सवाल उठाएका छन । रिमालले उठाएका सवाल जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ

प्रितम सिंहले प्रधानमन्त्री बनाएका प्रचण्डलाई प्रश्न !!!
सधैंभरी आफूले काँक्रो खाएर वियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपाली वियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ? यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? हामीलाई विश्वास छ, संसदले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दहालजीसँग आज कम्तिमा पनि संसदले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ‘प्रितम सिंह’ थिएनन्, यसपाली कसले दिल्लीमा ओहोर दोहोर गर्‍यो ?

पाँच बर्षलाई सरकार बनाउने–हटाउने, ऐन कानुन बनाउने–फेर्ने–खारेज गर्ने, विकासका लागि बहस गर्ने र सुशासन कायम गर्ने/गराउने जस्ता नेपाली जनताको अधिकार प्रयोग गर्नेगरी चुनिएका संघीय संसदका माननीयहरु कसैका रबर स्ट्याम्प हुन् र ? माननीय ज्यू, तपाईँहरुलाई लाग्दैन सभाहलमा टेबल ठोकी ठोकी आफूले चुनें भनेको प्रधानमन्त्री स्वयंले ‘प्रितम सिंहले दिल्ली ओहोर दोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा सार्वभौम संसदको शीर झुकेको छ !

प्रकाशित मिति : २० असार २०८०, बुधबार ११:४८