२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

भारतलाई खुशी बनाउन अस्तित्वमै नभएको नागरिकता विधेयक प्रमाणीकरण

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतलाई खुशी बनाउन अस्तित्वमै नभएको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तासँगै उनले विधेयक प्रमाणीकरण गरेका हुन । प्रचण्ड आजै जम्बो टोलीसहित भारत जाँदैछन ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले  राष्ट्रघाती भनेर रोकेपछि निष्क्रिय भएको नागरिकतासम्बन्धि विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । उनले यसअघि राष्ट्रपति हुने प्रयोजनका लागि पनि उक्त विधेयक प्रमाणिकरण हुने बताउँदै आएका थिए ।

यस अघिको संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न सरकारले गत जेठ १२ गते राष्ट्रपति पौडेललाई फेरि अनुरोध गरेको थियो । यस अघि संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ गत तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर उनले विधेयक राष्ट्रघाती भएको भन्दै संसद्लाई फिर्ता पठाएकी थिइन् ।

पुनः भदौ २० गते दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पठाउँदा पनि विधेयक शीतल निवासमा नै रोकिएको थियो । यसरी पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी नै शीतल निवासबाट बाहिरिएकी थिइन् ।

विधायिकी अधिकार संसदको सबैभन्दा विशिष्ट विशेषाधिकार हो तर राष्ट्रपति पौडेलले यसैको चिरहरण गरेका छन । मन्त्रिपरिषद्ले विधेयक सिफारिस गर्ने अधिकार नै राख्दैन । उसले संसद नचलेको समयमा अध्यादेश सिफारिस गर्ने तर संसदले बठाउने विधेयक मन्त्रिपरिषद्को आग्रह भन्दै राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेर संसदको समेत घोर अपमान गरेका छन ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार ११:३७