२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

दशौँ पटक मन्त्रिपरिषद् विस्तारः आचार्यलाई महिला मन्त्रालयको जिम्मेवारी, यादव खानेपानीमा सरुवा

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले आइतबार नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका हुन् ।

आचार्यले आजै राष्ट्रपतिको कार्यालय शीतल निवास आइतवार मध्यान्ह शपथ लिएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत उच्च पदस्थ सरकारी अधिकारी उपस्थित थिए।

कपिलवस्तु क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित उनी नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्षका सांसद मानिन्छन्। त्यस्तै, गत चैत १७ गतेमहिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवएक महिना नबित्दै खानेपानी मन्त्रालयमा सारिएका छन्।

यादवलाई अब महिला मन्त्रालयबाट सरुवा गरेर खानेपानी मन्त्रालय जिम्मेवारी दिइने भएको हो । यसअघि यही वैशाख २१ गतेनवौँ पटक विस्तार हुँदा तीनजना कांग्रेस सांसदहरू मन्त्री बनेका थिए। धनराज गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतले स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूले युवा तथा खेलकुदमन्त्रालय सम्हालेका थिए।

त्यसअघि वैशाख ३ गते कांग्रेसबाट सांसद एनपी साउदले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका थिए। उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री बनाउँदै कांग्रेस गत चैत १७ गते सरकारमा सहभागी भएको हो। कांग्रेसबाटै अर्थमन्त्रीमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, सहरी विकासमन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल छन्।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १४:१३