बीमा कम्पनीहरुलाई पूँजी वृद्धि गर्न तीन महिना समय थप, याे अवधिमा हाेला त पुरा ?
५ वैशाख, काठमाडाैं । नेपाल बिमा प्राधिकरणले पुँजी नपुर्याउने बिमा कम्पनीहरुका लागि समय सिमा थप गर्ने भएको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुले तोकिएको समयमा पूँजी पुर्याउन नसकेपछि समय थप गरेको हो । अब जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा न्युनतम चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।
यसअघि प्राधिकरणले चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएको थियो । तर साे अवधिमा अधिकाँश बीमा कम्पनीहरुले तोकिएको पूँजी पुर्याउन नसकेपछि समय थप गरिएकाे प्राधिकरणले जनाएकाे छ ।
चैत मसान्तसम्म केही कम्पनीहरूले मात्रै पुँजी पुर्याउन सकेका छन् । हालसम्म जीवन बीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएको छ । नेपाल लाइफको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । त्यस्तै, निर्जीवन बीमा तर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा सहभागी भएका बीमा कम्पनीहरूले हकप्रद सेयर मार्फत चुक्तपुँजी बढाउन सक्ने नीति ल्याएको छ । तर पुँजी वृद्धिका लागि केही पनि योजना नबनाएका कम्पनीहरुले भने हकप्रद सेयर जारी गर्न पाउने छैनन् ।
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १३:५०