राससले अब आफ्नै जनशक्तिबाट भिडियो सेवा चलाउने, ९ कर्मचारी माग
३० कात्तिक, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले भिडियो सेवा सञ्चालनका लागि आफ्नै जनशक्ति व्यवस्थापन गर्ने तयारी थालेको छ । यसअघि बाह्य कम्पनीमार्फत भिडियो सामग्री उत्पादन तथा खरिद गर्दै आएको राससले अब करार सेवामै भए पनि आफ्नै कर्मचारी नियुक्त गरेर भिडियो सेवा सञ्चालन गर्न लागेको हो ।
राससले केन्द्रीय कार्यालयमा रिक्त रहेका अधिकृत तथा सहायक स्तरका विभिन्न नौ पदमा करार सेवामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । माग गरिएका पदमध्ये भिडियो सेवासँग प्रत्यक्ष सम्बन्धित भिजुअल एडिटर र छायाँकार पद रहेका छन्।
राससको सूचनाअनुसार विज्ञापन नम्बर १/०८१–०८२ अन्तर्गत अधिकृत स्तर–६ को भिजुअल एडिटर पदमा एक जना माग गरिएको छ। त्यस्तै विज्ञापन नम्बर २/०८१–०८२ अन्तर्गत सहायक स्तर–५ को भिजुअल एडिटर पदमा तीन जना र विज्ञापन नम्बर ३/०८१–०८२ अन्तर्गत सहायक स्तर–४ को छायाँकार पदमा पाँच जना नियुक्त गरिनेछ।
यो निर्णयसँगै राससले भिडियो सेवाका लागि बाह्य कम्पनीमाथिको निर्भरता घटाएर आफ्नै जनशक्तिबाट सेवा सञ्चालन गर्ने बाटो रोजेको देखिएको छ।

यसअघि राससले भिडियो सेवाका लागि निजी कम्पनीसँग सम्झौता गरेर सेवा लिँदै आएको थियो। विशेषगरी नेपाल न्युज बैंक सञ्चालन गर्ने कम्पनीलाई भिडियो सेवाको ठेक्का दिइएको विषयमा राससको आलोचना भएको थियो। राससकै कार्यालयमा बसेर भिडियोसम्बन्धी काम गर्ने जनशक्तिले पारिश्रमिक भने बाह्य कम्पनीबाट लिने गरेको अवस्थाबारे पनि प्रश्न उठ्दै आएको थियो।
राससमा कार्यरतजस्तै गरी काम गर्ने भिडियोसम्बन्धी कर्मचारीको पारिश्रमिक बाह्य कम्पनीबाट भुक्तानी हुने व्यवस्थाले संस्थाको आफ्नै जनशक्ति विकास र संस्थागत क्षमता निर्माणमा प्रश्न उठेको थियो। पछिल्लो निर्णयले भने भिडियो सेवाका लागि आवश्यक जनशक्ति राससकै संरचनाभित्र राख्ने संकेत गरेको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाको पहलपछि राससले भिडियो सेवा सञ्चालनको पुरानो ठेक्का प्रणालीलाई निरन्तरता दिनुको सट्टा आफ्नै जनशक्ति तयार गर्ने निर्णय लिएको स्रोतको भनाइ छ। यससँगै राससले समाचार संकलन तथा प्रकाशनसँगै भिडियो सामग्री उत्पादनमा समेत संस्थागत क्षमता विस्तार गर्न खोजेको देखिन्छ।
राससले तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त माग गरेको छ। इच्छुक उम्मेदवारले राससको केन्द्रीय कार्यालयमा भौतिक रूपमा उपस्थित भएर वा प्रशासन शाखाको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्।
इमेलमार्फत आवेदन दिने उम्मेदवारले राससको वेबसाइटमा प्रकाशित दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजात एउटै पीडीएफ फाइलमा राखेर पठाउनुपर्नेछ। पीडीएफ फाइलको आकार दुई एमबीभन्दा कम हुनुपर्नेछ।
सूचना पहिलोपटक प्रकाशित भएको मिति २०८१ कात्तिक ३० गतेले सात दिनभित्र आवेदन बुझाउनुपर्ने राससले जनाएको छ।

प्रकाशित मिति : November 16, 2026 at 9:31 am










