मर्जर प्रस्ताव पारित गर्न दुई कम्पनीले बोलाए साधारणसभा, बुकक्लोज कहिले ?
५ वैशाख, काठमाडौं । मर्जर प्रस्ताव पारितका लागि युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एकैदिन विशेष साधारणसभा बाेलाएका छन्। यी दुई कम्पनीले यहि वैशाख २५ गते साधारणसभा बोलाएका छन् । युनाइटेडको काठमाडाैंकाे संखमूलस्थित अनमोल ब्यांक्वेटमा र अजोडको काठमाडाैंकाे त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा बिहान ११ बजेबाट सभा सुरु हुनेछ।
दुवै कम्पनीकाे सभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई स्वीकृत गर्नेछ। मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने विशेष प्रस्ताव दुवै सभाले पारित गर्नेछन्। मर्जर प्रयोजनका लागि युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ काम गर्ने विशेष प्रसताव दुवै सभाले अनुमोदन गर्नेछन्।
मर्जर तथा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु साधारणसभाले पारित गर्नेछ । साधारणसभा प्रयोजनार्थ अजोडले वैशाख १२ गते र युनाइटेडले वैशाख १३ गते बुकक्लोज गर्ने निर्णय गरेका छन्। यसकाे अर्थ बुक क्लोजको हुनु भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्रै यी दुवै कम्पनीको साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १२:२१