१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

४ लाख ९२ हजार कित्ता आईपीओ बिक्री गर्दै थ्रीस्टार हाइड्रोपावर, क- कसले किन्न पाउँछन् ?

४ वैशाख, काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता सेयर जारी गर्नेछ।

स्थानीयका लागि जारी आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि जारी हुने जारी पुँजीको १५ प्रतिशतले हुन आउने ७ करोड ३८ लाख ७५ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल ७३ हजार ८७५ कित्ता जारी गरिनेछ।

उक्त आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा भने स्थानीयले ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ७३ हजार ८७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेकाले वैशाख २५ गतेसम्म र स्थानीयले छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

स्थानीयाले खोटाङमा रहेका सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको साइट कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : April 17, 2023 at 10:21 am