मंसिरका लागि ६ वाणिज्य बैंकले घटाए ब्याज, १४ वटाको यथावत्
३० कात्तिक, काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार, कात्तिकको तुलनामा मंसिर महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४ प्रतिशतविन्दुभन्दा तल आइपुगेको छ।
कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०१३ प्रतिशतविन्दु रहेकोमा मंसिरका लागि ०.१०७ प्रतिशतविन्दु घटेर ३.९०६ प्रतिशतविन्दु कायम भएको हो। त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतविन्दुबाट ०.०१२५ प्रतिशतविन्दु घटेर २.९९०५ प्रतिशतविन्दुमा झरेको छ। मंसिर महिनामा ६ वाणिज्य बैंकले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। भने बाँकी १४ बैंकले भने कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन्।
ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा धेरै १ प्रतिशत बिन्दुले घटाएर ३.५ प्रतिशत कायम गरेको छ। कृषि विकास बैंकले ०.५ प्रतिशत बिन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ। त्यस्तै, एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतविन्दु घटाएर क्रमशः ४.२५ प्रतिशत र ३.२५ प्रतिशत तोकेको छ। लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशतविन्दु घटाएर ३.६१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेका छन्।
मंसिरमा सानिमा बैंकले व्यक्तिगत निक्षेपमा ४.५ प्रतिशत ब्याजदर कायम गर्दै सबैभन्दा धेरै ब्याज दिने बैंक बनेको छ। प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन्। अन्य १४ वटा बैंकहरूले भने मंसिर महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
प्रकाशित मिति : November 16, 2026 at 10:22 am










