बैंकहरूले घटाए ब्याजदर, मुद्दतीमा एकल अंक कायम
२९ चैत, काठमाडाैं । वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स एशोसिएसनले ब्याजदर घटाउने निर्णय गरेको छ । बुधवार बिहान बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो ।
बैंकहरूले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय भएको नेपाल बैंकर्स संघका सीईओ अनिल शर्माले बताए ।
उनका अनुसार घटेको ब्याजदर आगामी वैशाखदेखि नै लागू हुने भएको छ । वाणिज्य बैंकहरूले यसअघि ११ प्रतिशत दिँदै आएको व्यक्तिगत मुद्दती निक्षेपको ब्याज अब ९.९९ प्रतिशत कायम हुने भएको छ ।
संस्थागत निक्षेपकर्ताको ब्याजदर पनि ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत हुने भएको छ । योसँगै अब कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारिएको बैंकर्स संघले जानकारी दिएको छ ।
निजी क्षेत्रले बैंकहरूको ब्याजदर चर्को भएको र लागत बढी हुन गएको गुनासो गर्दै आएका छन् । पछिल्लोसमय प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले ब्याजदर घटाउन दबाब दिएकोले पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका हुन् ।
प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १५:०५












