१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

कम्युनिष्ट एकताको भजनमण्डलीभित्र सकिने र सकाउने बक्सिङ्ग खेलको अन्त्य गरौँ

-सरोजकुमार तामाङ

आजको आवश्यकता भनेको पार्टीको नाम र चुनाव चिन्ह फेर्ने भन्दापनि प्रचन्डको विचौलिया रुप फेरेको जनता हेर्न चाहन्छ । जुनसुकै राजनीति दलहरुसँग सत्ता सहकार्य गरेपनि आफ्नो राजनीति स्वार्थ पुरा गर्ने सीमित उदेश्यलाई वृहत समाजको परिवर्तनको निम्ति त्याग गर्न सके जनताले न्यायो अभिवादन गर्ने नै छ ।

आफ्नालाई अरुको प्रयोग गर्ने तर अरुलाई भने सदैव प्रयोग गरेर फ्याँक्ने प्रचन्डको यो शैली सामन्तवादको नयाँ भेरियन्ट मात्र हो । हिजोको राजतन्त्रिय सामन्तवादी शैली प्रचन्डको रुपमा संघीयतामा उदाउँदैछ । चुनाव लगत्तै कठिन मोडमा निर्माण भएको यो सरकार अहिलेसम्म प्रचन्डको प्रधानमन्त्रीय यात्रा बाहेक जनताले अनुभूति हुनेगरी कुनैपनि सरकारी काम कार्बाही देख्न पाएको छैन् । यो प्राप्त जनमतमाथिको तुषारापात हो । बरु उल्टै बनिएको सुदुर पश्चिमको प्रदेश सरकार ढल्न थाल्यो । त्यो बिषयमा प्रचन्ड एमालेप्रति कति गम्भीर छ भन्ने प्रमाणित हुन्छ ।

सरकार बनेको केहीदिन बित्न नपाउँदै आफ्नै सत्तासाझेदार दलहरुभित्र स्वार्थीय राजनीतिको कैंची चलाउँदा एकपछि अर्को गर्दै सरकारका पेच किल्लाहरु खुस्किदै गएका छन् । यसलाई अझ खुकुलो बनाउनमा काँग्रेसी सत्तामोहको औंजारहरु निर्विग्न प्रयोग गरिदैँछ । नेकपा एमालेले कम्युनिष्ट आन्दोलनलाई थप मजबुत बनाउन आफ्नै पहलमा निर्माण गरिएको यो सरकार एमालेकै निम्ति गलपासो बन्दैँछ ।

हिजो प्रचन्ड सरकार बनाउन काँग्रेसलाई चकित खुवाउँदै हौसिएको नेकपा एमाले आज प्रचन्डकै उदासिन्ताले सुदुरपश्चिम प्रदेश सरकार तासको महल झैं ढल्दा एमाले नेतृत्व पक्कैपनि झस्केको होला । जसको निम्ति सरकार बन्नु पर्ने हो, त्यसको निम्ति छैन् । तर पनि प्रचन्डले वाम एकताको बिगुल फुक्न कहिल्यै नछाड्ने भो । एकातिर बनेको कम्युनिष्ट सरकार ढल्दै जाने, कम्युनिष्ट दलहरुभित्र भएको सहमति अनुरुप राष्ट्रप्रमुख कम्युनिष्टकै बनाउन निष्कृय हुने अर्कोतर्फ वाम एकताको नाटक मंचन गर्ने, यो सब प्रचन्डको स्वार्थीय राजनीति हो । जसले कम्युनिष्ट आन्दोलनलाई एकपछि अर्को गर्दै धुलोपिठो पार्दैछ ।

आज गरिब, किसान, मजदुर, सर्वहारा र श्नमजीवीवर्गको मुक्तिको संग्राममा होमिएका नेपाली कम्युनिष्टहरुलाई सिध्याउन कुनै विदेशी तथा घरेलु प्रतिक्रियावादी शक्ति नचाहिने भो । फलामले फलाम काटे झैं एक कम्युनिष्टले अर्को कम्युनिष्टको अस्थित्व नै स्वीकार्न नसक्ने कारणले आफुपनि नासिने अरु सहगोत्रालाई पनि बाँकी नराख्ने वातावरण तय हुँदैछ । तर, बाहिरी रुपमा आम कम्युनिष्टजन र कार्यकर्ताहरुलाई भने कम्युनिष्ट एकताको साईन बोर्ड झुन्ड्याइएकै छ ।

कम्युनिष्ट एकताको भजनमण्डलीभित्र सिंधिने र सिध्याउनेको बक्सिङ्ग खेल चल्ला भनेर कसले पो सोचेको हुन्छ र ? एकले अर्कालाई देखि नसहने र सिध्याउने खेलको शुरुवातै हो भने बरु आ-आफ्नो राजनीतिक यात्रा तय गरौं । आ-आफ्नो क्षमताले राजनीति गर्न सिकौं । जसले हिजो जनयुद्धताका टाउकोको मूल्य तोक्यो र यो मुलुकलाई बर्बादीको दिशा उन्मुख गराएर आज उसैसँग सहकार्य गर्न कम्युनिष्टको दाम्लो चुडाउन बारम्बार बल गर्छ भने नेकपा एमालेजनहरु सदैव सुरक्षा दिएर बस्न सक्दैन् ।

अरुलाई भोट मागेर सुकुम्बासी हुनेहरुसँग सहकार्य गर्नु, नेकपा एमालेले बुझे झैं सुध्रिएको कम्युनिष्ट बिरुवा प्रचन्ड नेतृत्वको कम्युनिष्ट होइन् । जनताको त्याग र तपस्याबाट प्राप्त उपलब्धिहरुलाई प्रयोग गरेर बारम्बार सत्ताको स्वाद चाख्नु प्रचन्ड नेतृत्व माओवादीहरुको प्रतिक्रियावादी सोचले काम गर्दैछ । समाजको आमूल परिवर्तन गर्छु भन्दै जनतामाझ खाइएका वाचाहरुप्रति जनउत्तरदायी हुँदैन भने त्यसले अन्त्यमा गएर सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद, साम्राज्यवाद र प्रतिक्रियावादका सामु घुँडा टेक्ने नै हो ।

अबको बाँकी राजनीतिक कार्यभारहरु पुरा गर्न नेकपा एमालेले जनताको बहुदलीय जनवादको अंशमा टेकेर कार्यनीति र रणनीतिहरु नबनाउने हो भने हाम्रो पतन पनि धेरै टाढा छैन् । जबजको विषेशताहरु मध्ये जनवादी राज्यसत्ताको घोषणा एक महत्वपूर्ण जनमुद्दा हो । त्यसका निम्ति पराधीन राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्तिकारी रुपान्तरण गर्दै यी नयाँ जनवादका अवयवहरुलाई सर्वहारावर्ग नेतृत्वभित्र रहेर स्वाधीन बनाउनुपर्छ ।

समाजका विद्यमान उत्पादनका साधनहरुलाई सर्वहारावर्गको नेतृत्वमा ल्याएसँगै मुलुकले राष्ट्रिय पुँजीको निर्माण गर्दै मुलुकभित्रै श्नमजीवीवर्गहरुलाई रोजगारीको ग्यारेन्टी गर्नेछ । त्यसका निम्ति क्रान्तिकारी भूमिसुधार कार्यक्रमहरु लागू गर्दै जानुपर्छ तर आजको क्रान्तिकारी भूमिसुधार कार्यक्रम लागू गर्न देखिएको बाधक तत्वहरु भनेका सामन्तीवर्ग र प्रागसामन्तीवर्ग (पित्तृसतात्मक) नै हो । यी दुवै वर्गहरुलाई नेपाली समाजको अस्थित्वमा राख्दै आफ्नो औपनिवेशिक नियतलाई जिवित्तै राख्न वैदेशिक एकाधिकारवाद, साम्राज्यवाद र निगम पुँजीवादहरु गोप्यरुपमा सामन्तीवर्ग र प्रागसामन्तीवर्गलाई साथ र समर्थन गर्दै आएका छन् ।

यसरी यहाँका सामन्तवर्गहरुले अधिकांश भूमिको स्वामित्व आफ्नो हातमा लिएसँगै यहाँ राष्ट्रिय पुँजी निर्माणको लागि उद्योगधन्दा कलकारखानाहरु संचालन गर्न बाधा उत्पन्न गरेको र त्यही साम्राज्यवादका बहुराष्ट्रिय कम्पनीहरुका मालसामानहरु बेच्ने थलोको रुपमा प्रयोग हुँदै आएको छ । त्यतिमात्र होइन, हाम्रा मुलुकभित्र रहेका प्रकृतिक स्रोतसाधनहरु र सस्तो श्नमको प्रयोग गर्दै हामीले नै निर्वाचित गरेका हाम्रै सरकारप्रति वितृष्णा फैलाउने र जनतालाई आफ्नै सरकारप्रति दुश्मनको व्यबहार देखाउने वातावरण तय गर्ने, अनि सरकारलाई दयनीय अवस्थामा पुर्याएर असमान सन्धि-सम्झौताहरु गर्ने साम्राज्यवादी शक्तिहरुको चलखेल प्रत्येक सचेत नेपालीले बुझ्न जरुरी छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ०९:५४