२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन


-सरोजकुमार तामाङ

विश्व कम्युनिष्ट सिद्धान्तहरुको अधिकांश नेपाली टुहुरे शाखाहरुले मार्क्सवाद-लेनिनवाद-माओवादको अघोषित सैद्धान्तिक दासत्व स्वीकारेको अवस्थामा त्यही मार्क्सवादको तेस्रो गुणात्मक विकासलाई मुलुकको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै सर्वहारावर्गीय सशस्त्र संघर्षका कार्यक्रमहरुलाई शान्तिपूर्ण वैचारिक संघर्षको माध्यमबाट वैज्ञानिक समाजवादको उदय यो मुलुकमा गर्न सकिन्छ भन्दै चरम दक्षिणपन्थी धारहरुसँग अस्थायी मित्रवत सम्बन्ध स्थापित गर्दै थालिएको संयुक्त जनआन्दोलन मार्फत प्राप्त यी उपलब्धिहरुबाट आज तत्कालीन नेकपा (मशाल) का महामन्त्री प्रचन्ड जसले २०४५ सालमा आफ्नो राजनीतिक प्रतिवेदनमा नेकपा मालेलाई संशोधनवाद र दलाल संसदीय अभ्यासमा रम्ने कम्युनिष्ट भन्दै चर्को बिरोध गर्ने उही व्यक्ति सत्ताको हुँटहुँटीले गर्दा नेकपा एमालेको साहारा खोज्नु परेको छ ।

आफैंले शुरुवात गरेका सशस्त्र विद्रोहका कार्यक्रमहरुलाई तिलान्जली दिदैँ बहुरूपी विचारले भरिएको जनआन्दोलनको साथ र समर्थनबाट गणतन्त्र, धर्मनिरपेक्ष र संघीयता जस्ता मुद्दाहरु तत्कालीन अवस्थामा कल्पना नै गर्न नसक्ने र कल्पना गरेपनि विकल्पको रुपमा प्रस्तुतै गर्न गाह्रो हुने परिप्रेक्ष्यमा चन्चले स्वार्थीय प्रचन्डको निम्ति अपरिहार्य थियो या कृतिम बनावटी जनयुद्धको अन्तिम निष्कर्ष गोप्य रुपमा त्यही थियो; त्यो समय क्रमसँगै खुल्दै जाला ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै उद्घोष गर्दै आएको नागरिक स्वतन्त्रता, तत्कालीन नेकपा महासचिव मनमोहन अधिकारीद्धारा प्रस्तुत गरिएको शान्तिपूर्ण वैचारिक जनआन्दोलन, सिमित अधिकार सहितको २०४६ सालको प्रजातन्त्र र जननेता मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवादका सारसंक्षेप नै राष्ट्रियहितानुकूल र बहुरंगी समाजका सर्वहारावर्गीय मुद्दाहरुमा वैचारिक धारले बिमुखहरुसँग अस्थायी सहकार्य गर्दै तमाम गरिब, किसान, मजदुर, श्नमजीवी र सर्वहारावर्गको अधिनायकत्वको राज्यसत्ता विस्तार गर्न कछुवाको गतीमा भएपनि अघि बढ्दै हाम्रो निर्विकल्प लक्ष्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्न सकिन्छ भन्ने वस्तुगत मार्ग चित्रित गरेको छ ।

समाजलाई बदल्ने हाम्रा सोचहरुमा पनि समय परिस्थिति अनुरुप मार्क्सवाद-लेनिनवाद-माओवादको मूल मर्म साम्राज्यवाद र सर्वहारावर्गको जनसंघर्षका क्रान्तिकारी वैचारिक बहसहरुलाई नबंग्याउँदै जनता, जनसंगठन, जनसंघर्ष र त्यसभित्र घनीभूत तवरले हुर्कदै गरेका मुलुकको तत्कालीन कम्युनिष्ट विमारी अवस्थालाई मध्यनजर गर्दै थप विचौलिया, माफिया र तस्कर कम्युनिष्टहरुलाई जनताको बहुदलीय जनवादको अप्रेसन थ्रेटरभित्र राखेर काँटछाँट गर्नु र चलायमान कम्युनिष्ट पद्धतिहरुलाई थप उर्जा प्रदान गर्नु नेकपा एमालेको आजको गृहकार्य हुन आउछ ।

अहिलेको दलाल संसदीय पद्धतिको दक्षिणपन्थी अवसरवाद तथा घरेलु साथै वैदेशिक प्रतिक्रियावाद र साम्राज्यवादी शक्तिका धुलो र मैलाले थिचिएर बसेका तर जीर्ण अवस्था उन्मुख हाम्रा नयाँ जनवादी व्यवस्थाको कार्यनीति र वैज्ञानिक समाजवादको रणनीतिक समिक्षा गर्दै थप गन्तव्य उन्मुख राजनीतिक पूर्वाधारहरु निर्माण गर्न समय निकालौं । एक चुनावदेखि अर्को चुनावसम्मको मात्र घृणित राजनीतिक यात्रा तय गर्दै जाने हो भने त्यो प्रतिगमनको चक्कर अन्त्यमा संशोधनवादमा पुगेर टुंगिने हो ।

यसरी संशोधनवादका नीति र विधिहरु पुँजीवाद र साम्राज्यवादसँग मेल खादैँमा विश्व कम्युनिष्ट मञ्च धर्मरायो भन्नु ढल्नै लागेको साम्राज्यवादलाई अस्थायी टेवा दिनु हो । आजको न्यूनतम र भोलीको अधिकतम कार्यक्रमहरुलाई व्यवस्थित तुल्याउँदै गति प्रदान गर्न नसकेको खण्डमा कम्युनिष्ट प्रगतिशील सोचको तरबार संशोधनवादको संग्राहलयमा थन्किनेछ । एकपछि अर्को राजनीतिक शक्तिको उदय प्रत्येक निर्वाचनबाट हुनु भनेको जनमतले परिवर्तन चाहिएको छ भन्ने स्पष्ट सन्देश हो । जनमतको कम्पासले कुन दिशा निर्धारण गरेको छ, त्यो समयमै बुझ्ने जमर्को गर्न छाडेर पदीय लाभको पछि मात्र दौड्ने हो भने कालान्तरमा दक्षिणपन्थी अवसरवादको दलदलमा फस्ने नै हो ।

हाम्रा संगठनहरु शहर केन्द्रित हुन, सर्वहारावर्गसँगको सम्बन्ध टुट्दै जानु, नेता र कार्यकर्ताबीचको वैचारिक नातामा अवसरवादी मित्रताले ठाउँ ओगट्दै जानु पक्कै पनि जनवादी केन्द्रियता सांगठनिक पद्धति हैन होला । सर्वहारावादी अधिनायकत्वको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्तिको जनवादी पद्धति बिनाको केन्द्रियता निरंकुश र तानाशाह हो भने जनवादी कार्यनीति र वैज्ञानिक समाजवाद रणनीति बिनाको केन्द्रियता अराजकता, संशोधनवाद र प्रतिक्रियावाद हो ।

अहिलेको सन्दर्भमा सर्वहारावर्ग अधिनायकत्व वैज्ञानिक समाजवादको प्रवेशद्धारको रुपमा रहेको जनताको बहुदलीय जनवादको जहाज डुब्ने र डुबाउने खेलको अन्त्य नेतृत्व तह र भावी समाजवादी नेताहरु हुँर्काउने संगठनहरुलाई चुस्त र दुरूस्त राखेको खण्डमा मात्र बचाउन सकिन्छ । त्यसकालागि वैचारिक र सैद्धान्तिक बहसहरु विभिन्न कालखण्डहरुमा गर्दै संगठनभित्र नवीनतम् सोचहरुलाई फूल्न र फल्न दिनुपर्छ । हजारौं विचारहरुलाई मार्क्सवादी बहसहरुको कसीमा घोटेर धारिलो र चम्किलो शक्तिको रूपमा ग्रहण गर्नुपर्छ ।

मात्रात्मक मात्राको संगठन, विचार र पद्धतिहरुलाई गुणात्मकमा रुपान्तरित गरौं । व्यवस्था र अवस्थाहरुलाई समय अनुकूल ढाल्दैँ जाऔं । जनता र पार्टीबीच टुटेको सम्बन्धलाई नंङ्ग र मासुको झैं बनाऔं । निर्माण आफैंले गर्नुछ, भत्किदैँ गरेका कम्युनिष्ट वैचारिक पर्खालहरुलाई व्यवस्थित र मजवुत हामी आफैंले गर्नुछ, विश्व सर्वहारावर्गको राज्यसत्ता निर्माण गर्ने हाम्रा पर्खालहरुमा साम्राज्यवादी शक्तिहरुले प्रतिक्रियावादी बन्दूक तेर्स्याउँछ भने त्यसको सामाना सशस्त्र संघर्षबाट गर्न पनि पछि पर्नु हुँदैन् । शताब्दीऔं देखिको शोषण, दमन, अन्याय, अत्याचार र सबै प्रकारका उत्पीडनहरुको अन्त्य गर्न गरिएको कम्युनिष्ट राजनीति बीचैमा छाडेर जाने छुट कसैलाई पनि छैन् ।

संघर्षको मैदानमा कि आफैं सिंधिने हो कि त वर्गीय दूश्मनहरुलाई सिध्याउने हो । तसर्थ मार्क्सले भन्नु भए झैं ‘ हे विश्वका सम्पूर्ण मजदूर तथा सर्वहारावर्गहरु हो !! आफ्नो मुक्तिको निम्ति उठ, जाग र लम्क; हार्नको निम्ति हामीसँग केही छैन् किनकि हाम्रा राजनीति, आर्थिक, सामाजिक र साँस्कृतिक हकअधिकारहरु मुठ्ठीभर शोषक, सामन्ती, दलाल नोकरशाही पुँजीपतिवर्ग र साम्राज्यवादीवर्गहरुले उहिल्यै हत्याईसकेको छ । तर, मुक्तिको संग्राम जित्यौं भने सारा संसार रहेको छ ।’

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ११:०६