२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

सरकारको नालायकीः कमिसनको खेलले डेढ महिनादेखि पशुपतिको विशेष पूजा रोकियो

-प्रतिमा ढुंगाना 

१४ कार्तिक, काठमाडाैँ । हिन्दुधर्मावलम्वीहरुको चार धाम मध्ये आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर पनि एक हो । नेपालको राजधानी काठमाडौँको पूर्वी भागमा बागमति नदि किनारमा अवस्थित छ । हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिर नेपाल, भारत लगायत विश्वमा छरिएर रहेका हिन्दुहरुको पवित्र तिर्थस्थल पनि हो ।

सयौँ रोपनी क्षेत्रफल ओगटेको पशुपति क्षेत्र जसलाई व्यवस्थित विकास गर्नको लागि सरकारले संस्कृति, पयर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत राखेर पुशपति क्षेत्र विकास कोष स्थापना गरी पशुपतिनाथ मन्दिरलाई सञ्चालन तथा व्यवस्थापन गरेको छ । पशुपति क्षेत्रलाई पाशुपत क्षेत्र भनेर पनि चिनिने गरेको छ ।

पशुपतिमा हुने १० प्रकारका पूजा र त्यसका लागि लाग्ने रकम ।

यस क्षेत्रमा खुट्टा टेके पनि मानिसलाई आनन्द र सुख प्राप्ति हुने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरू वताउछन । त्यस्तै गरेर जो कुनै व्यक्ति पशुपति मन्दिरमा आएर आधा घण्टा ध्यान गर्छ उसलाई धेरै प्रकारका दुखकष्टवाट मुक्त हुने जनविश्वास तथा मान्यता समेत रहेको छ ।

मन्दिर भनेको मनलाई स्थिर वनाउने, अनुशासित बनाउने, पवित्र भावनाको विकास गराउने, व्यवस्थित रुपमा सही मार्गमा डोराउन सहयोग गर्ने स्थान र ठाउ हो । तर पशुपतिनाथ मन्दिर पवित्र भावना, आस्था र अनुशासनको भन्दा पनि ठेक्कापट्टाको चपेटामा परेको छ । पशुपति मन्दिरका गतिबिधि ठेक्कापट्टामा चलेको सुन्दा जो कोही हिन्दुधर्मावलम्वीले झट्ट नपात्यउँन सक्छन तर पशुपतिले ठेकेदार  नापाएर केहि समयदेखि पूजा नै पाएको छैन ।

पशुपति क्षेत्र विकास कोषले पूजा गर्न नसकिने भन्दै निकालेको सार्वजनिक सूचना ।

विश्वका विभिन्न क्षेत्रमा बसोबास गर्ने हिन्दू भक्तजनहरू लाखौँ खर्च गरेर पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न आउने गर्छन । यस पुशपति मन्दिरमा आएर दर्शन गर्न नपाउँदा कस्तो मन हुन्छ होला तपाई कल्पना पनि गर्न सक्नुहुन्न । यो मन्दिरमा १० प्रकार विशेष पूजा हुने कोषको नागरिक बडापत्रमा मूल्यसूचीसहित उल्लेख गरिएको छ ।

पशुपतिमा पूजाका लागि दर निर्धारण गरिएको छ । न्यूनतम १ हजार १ सयदेखि सुरू भएर २५ लाख सम्मको पूजा गर्न सकिन्छ । तर विडम्वना विगत केही महिनादेखि १ नम्वरको पूजाबाहेक अन्य पूजा हुन सकेको छैन । पूजा सामग्रीहरू ठेक्का पट्टा मार्फत आपुर्ति गर्ने भएकोले समय मै पशुपतिनाथ क्षेत्र विकास कोषले ठेकदार नियुक्त गर्न नसक्दा यस्तो अवस्था आएको पशुपति क्षेत्र विकास कोषका अधिकारी वताउँछन ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा अब केही दिनमै पूजाका लागि ठेक्क लाग्ने बताउँछन । अहिले कोषको आन्तरिक निर्णयबाट कोटेशन लिएर एउटा पूजामात्र चलाउँदै आएको बताउँदै उनले सबै पूजा नाभए पनि खास समस्या नभएको बताए ।

पशुपति क्षेत्र विकास कोषका नवनियुक्त पदाधिकारीले कमिसनको लोभमा ठेक्का नगरी कोटेशनमा अधुरो काममात्र गरिरहेको कोषका कर्मचारी बताउँछन । नियुक्तिकै समयमा विवादित बनेका सदस्यसचिव सदस्यसचिव मिलनकुमार थापा र कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले मन्दिरबाट संकलन हुने राजस्व संकलनमा समेत गिरवाट ल्याइदिएका छन । कोषको संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा हुन भने अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ हुन ।

इन्सेटमा पशुपतिनाथ क्षेत्र विकास कोषका संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा, कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनाराम श्रेष्ठ र सदस्य सचिव मिलनकुमार थापा ।

कोषको पछिल्लो गतिबिधिले एकातिर राज्यकोष आम्दानीमा ह्रास ल्याएको छ भने अर्कोतिर हिन्दू धर्मावलम्वीहरूको आस्थामा कुठराघात गरेको छ । पवित्र मन्दिर पनि ठेक्का पट्टा र दलालीबाट चलाउने व्यवस्था कायम राख्नु र त्यसैका नाममा कोषका पदाधिकारीले अकुत कुम्ल्याउने नियतमात्र राख्नु गलत छ ।  मठ मन्दिर आस्था र अनुशासनले चल्ले हो, ठेक्का पट्टाले चल्ने  र चलाउने ठाउँ होइन तर पशुपतिमा सरकार र कोषको गलत नीतिका कारण समय समयमा पूजा नै रोकिदै अाएको छ । मन्दिर भेटीसमेत अपारदर्शी हुने गरेको विषय यसअघि पनि बाहरि अाउने गरेका थिए ।

पूजा लागि पशुपतिमा पुगेर पूजा गर्न नपाएका भारतीय नागरिक भानुप्रताम सिंहले पैसा तिरेर पूजा गर्न नपाउनु लज्जाको विषय भएको बताए । उनसँगै पशुपतिमा पुगेका दर्शनार्थी पोष्ट केसीले दैनिकीसँग भने, ‘ठेक्का पट्टाका कारण आराध्यदेव भगवान पशुपतिनाथमा भक्तजनहरुले विशेष पूजा गर्न नपाउनु भनेको यो भन्दा लज्जाको विषय अरू के होला र ? पशुपति क्षेत्रविकास कोषका पदाधिकारीले जवाफ दिन पर्दैन । करोडौ धर्मावलम्वीहरुका आस्थाको केन्द्र र पवित्र मन्दिरलाई कहिले सम्म वन्धक वनाउने ? अलि कति पनि नैतिक्ता छैन ?’

पशुपतिनाथको संगठन संरचना ।

पहिला दैनिक करिव १ सय ५० जनाले विशेष पूजा गर्ने गरेको तथ्यांकले देखाउछ भने अहिले दैनिक वढीमा २० जनाले मात्र दुई हजार १ सय बरावरको विशेष पूजा गर्ने गरेका छन । जसबाट मन्दिरको दैनिकी लाखौँ रूपैयाँ आम्दानी गुमाइ रहेको छ । केसीले दैनिकीसँग कुरा गर्दै प्रश्न गरे, ‘यसरी देश र मन्दिरलाई ठेक्का पट्टा, गठवन्धन, साठगाँठ, जालझेलबाट चलाउने हो भने नीति, विधि, विचार, सिद्धान्तले हावा खाएका हुन त ? यस्तो कार्टेलिङ, सौदावाजी, सट्टेवाजीबाट देश र जनताले के आशा गर्ने ? मन्दिरमा समेत पूजा गर्न नपाउने भन्ने हुन्छ ? ’

प्रकाशित मिति : October 31, 2022 at 12:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/