२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

हितबहादुर तामाङलाई यौन दूर्व्यवहारमा कारबाही गर्दा माओवादीभित्रै पीडित बनेका नेता


२ कार्तिक, नुवाकोट ।नेकपा माओवादीमा सशस्त्र द्धन्द्धको समयमा यौन दूर्व्यवहारका अनेक घटना भए तर कमैमात्र बाहिर आएका छन । कतिपय यस्ता घटना पनि छन जो यौन दूर्व्यवहारमा कारबाहीमा परे उनीहरू नेता भए तर जसले पार्टीभित्रको नीति अनुसार कारबाहीको निर्णयमा सहभागिता जनाए ती कर्नरमा परे ।

माओवादीभित्रको यस्तै एउटा घटनाका पात्र हुन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ डाँडागाउँका शम्भु पनेरू । पनेरू एउटा प्रतिनिधिपात्रमात्र हुन जसले पीडितको उजुरीमाथि छानविन गरेर पीडकलाई कारबाही गर्न भूमिका खेले । नेकमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं नुवाकोट जिल्लाका तत्कालीन सेक्रेटरी हितबहादुर तामाङ भूमिगतकालमै कारबाहीमा परे । कारबाही पर्नुको कारण थियो यौन दूर्व्यवहारको मुद्दा ।

तामाङले सहयोद्धा दुई कमाण्डरमाथि यौन दूर्व्यवहार गरेपछि उनीमाथि पार्टीले छानविन गर्यो र त्यसमा कारबाहीको निर्णय पनि भयो । त्यस समयमा तामाङलाई पार्टीबाट कारबाही गरेर रसुवाको यार्सामा आलु खन्ने काम गर्ने गरी श्रमशिविरमा पठाइएको पनेरू बताउँछन । तामाङलाई कारबाही गर्ने समितिका एक सदस्य थिए पेनरू पनि । पछि तामाङ पार्टीमा फर्किएर माथिल्ला कमिटीमै सहजै पुगे । त्यसपछि शम्भुको राजनीतिक रूपमा अफ्ठेरा दिनहरू सुरू भए । त्यसपछि उनी र त्यहो बेला तामाङमाथि कारबाहीको कुरा गर्नेहरू पार्टीमा पछाडि पर्दै गए ।

उनले पार्टीमा न कहिल्यै उचित जिम्मेवारी पाए न त कुनै संसदीय मोर्चाका लागि पार्टीका तर्फबाट प्रतिस्पर्धाको अवसर पाए । बरू हितबहादुर तामाङ अन्तरिम व्यवस्थापिकामा चुनावै नलडी सांसद हुने भाग्यमानी बने । त्यसपछि उनले चौँथो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछन ।

तर शम्भु र शम्भुजस्ता अन्या सयौँ कार्यकर्ताहरूले पार्टीबाट अवसर पाउन छाडे । पार्टीमा अवसर पनि नदिने र भित्तामा पुर्याउने खेलहरूमात्र भएपछि पनेरू विचलित बनेर एक पटक बाबुराम भट्टराईको अभियानमा पनि लागे तर पछि माओवादीमै फर्किएका उनी केही महिनाअघिको स्थानीय निर्वाचनमा माओवादीनै उम्मेदवार अघि लगाएर पछिपछि पार्टीको झण्डा बोक्दै हिडेँ ।

पार्टीमा चैतेहरू (नवप्रवेशी)लेमात्र अवसर पाउने र पदको दुरूपयोग गरेर करोडौँ कुम्लयाउन थालेको आफ्नै आँखा अघि देखिरहेका शम्भु विरक्तिएर स्वतन्त्र उम्मेदवारी दिएर भए पनि चुनाव जितेर जनताको सेवा गर्छु भन्ने अठोटका साथ माओवादी पार्टी छाड्ने निष्कर्षमा पुगे र अहिले नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा अहिले खसीको टाउ चुनाव चिन्ह बाेकेर चुनावमा होमिएका छन ।

पूर्वमन्त्री पाण्डे र पञ्चायत ढुंगानासँग प्रतिस्पर्धा गर्दै पनेरू 

कुनै बेला एउटै मोर्चामा सहयोद्धा भएर भूमिगत राजनीति गरेको दुई सहयोद्धा हुन पनेरू र रामप्रसाद ढुंगाना । पनेरू स्वतन्त्र र ढुंगाना माओवादी केन्द्रका तर्फबाट उम्मेदवार छन । त्यस्तै बागमती प्रदेशमा पूर्वमन्त्री केशवराज पाण्डे एमालेका तर्फबाट मुख्यमन्त्री बन्ने अभियानका साथि चुनावी मैदानमा भिडिरहेका छन ।

यस प्रदेश क्षेत्रमा यिनै तीन जना उम्मेदवारको बीचमा मुख्य प्रतिस्पर्धा देखिन्छ । उम्मेदवारी फिर्ताको सार्वजनिक घोषणा गरेको भए पनि चुनाव चिन्ह कायम रहेका कारण नेपाली कांग्रेसकी गीता अमात्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रकाश लोहनीले राम्रै मत पाउनेमा कुनै शंका छैन ।

पनेरू र ढुंगानाको सम्बन्ध 

ढुंगाना र पनेरु कुनै समयका सहयोद्धा हुन् । ढुंगाना २०४४ सालमा जिल्ला पञ्चायतका उपसभापति हुँदा पनेरु अखिल छैटौँका इकाइ सदस्य थिए अर्थात उनी त्यतिखेर नै कम्युनिष्ट कार्यकर्ता बनेर मैदानमा देखापरिसकेका थिए । ढुंगाना २०४८ सालको निर्वाचनमा पञ्चायतका स्वतन्त्र उम्मेदवार टेकबहादुर लामाको एजेन्ट बन्दा पनेरू भने तत्कालीन जनमोर्चाको उम्मेदवार छनोट समितिको सदस्य रहेका थिए । ढुंगाना सशस्त्र युद्धको अन्तिम समय हुन लागेको समय अर्थात २०५८ सालमा माओवादीको सदस्य बनेका हुन् ।

को हुन शम्भु ?

नुवाकोट क्षेत्र नम्बर २ को क बाट स्वतन्त्र उम्मेदवार बनेका शम्भु लामो समय माओवादी राजनीतिमा सक्रिय भएका व्यक्ति हुन् । २०४८ सालमा हालका माअोवादी पोलिटब्यूरो सदस्य हितबहादुर तामाङसँगै युवक संघको जिल्ला सदस्य भएका पनेरु २०५३ सालमा नेकपा माओवादीको जिल्ला कमिटी सदस्य बनेका थिए ।

साविकको कुमरी गाविसस्थित वीरेन्द्र माध्यामिक विद्यालयको शिक्षक हुँदै विकास प्राथमिक विद्यालयको प्रधानाध्यापकको भूमिकामा रहेका पनेरुले युद्धकालमा कुमरीलाई दोस्रो रोल्पा बनाउन आफ्नो जागिर तिलाञ्जली दिएका थिए । उनी पार्टीभित्र मात्र नभई भूगोलमा पनि मध्यस्तकर्ताको भूमिकामा थिए । उनको सोच जनतालाई दुःख दिनुहुँदैन भन्ने थियो ।

उनी जनतासँग अनावश्यक चन्दा उठाउन हुँदैन भन्ने पक्षमा थिए । त्यहि स्वभावका कारण उनलाई दुश्मनसँग मिलेको आरोप लाग्थ्यो पार्टीभित्र । र बारम्बार स्पष्टीकरणको भागीदार बन्थे । उनले पार्टीभित्र र स्थानीयसँग समन्वयकर्ताको भूमिका खेलेका थिए । पनेरु द्धन्द्धमा क्षति कम होस् भन्ने पक्षमा सदैव लागिरहे ।

सोहि क्रममा उनी मैथिली ब्यारेकका कर्नेल डम्बर सिंह गुरुङसँग वार्ता गरिरहन्थे । त्यतिमात्र होइन संयुक्त राष्ट्रसंघीय उच्च आयोग (आइसीआरसी)को समन्वयकर्ता समेत थिए । नुवाकोटमा सबै ठूला नेताको भागदौड भएको बेलामा उनले संगठन निर्माणमा ठूलो भूमिका खेलेका थिए । धादिङको थाक्रे गाउँपालिकामा संगठन निर्माण पनेरुले नै गरेका थिए ।

विकास निर्माणका गतिबिधिमा नुवाकोटको कर्णाली भन्दा फरक छैन कुमरी । तर, पनेरुकै पहलमा २५ वटा भन्दा बढी स्थानीय सडकको ट्रयाक खोलिएको विषय सबैसामु छर्लङ्ग छ । उनी कुमरी विद्युतीकरणको संयोजक थिए । गाउँगाउँमा सहकारी बनाउनुपर्छ भनेर उनले कुमरी नमुना बहुउदेश्यी सहकारी संस्थाको संस्थापक अध्यक्षको रुपमा दुई वर्ष काम गरे ।

२०६४ सालमा अखिल नेपाल शिक्षक संगठनको सचिवको भूमिकामा रहेका पनेरु २०६५ सालमा अखिल नेपाल शिक्षक संगठनको विभागीय इन्चार्ज भएका थिए । कुमरी नमुना बहुमुखी क्याम्पसको संस्थापक सदस्य हुँदै हाल लक्ष्मेश्वर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा कार्यरत छन् । पार्टीभित्र इमान्दार भएका कारण उनी माओवादीबाट उपेक्षित हुँदै आए ।

भ्रष्टाचारबाट टाढा रहनुपर्छ भन्दै उनले सँधै पार्टीभित्र दबाब सिर्जना गरिरहेका कारण उनी पार्टीभित्र सँधै पछाडि पारिए । आफ्नो इमान्दारिता र त्यागलाई माओवादी पार्टीले अबमुल्यन गरेको भन्दै पनेरु केहि वर्षयता माओवादी राजनीतिक सक्रियताबाट टाढा भएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १६:२५