६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागको प्रमुखमा प्रा प्रवलराज पोखरेल नियुक्त


२५ वैशाख, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्राध्यापक (प्रा) प्रवलराज पोखरेल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयले पोखरेललाई मंगलबार विभागको प्रमुखमा नियुक्त गरेको हो ।

यसअघिका विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले राजीनामा दिएपछि उपकुलपति प्रा डा केशरजङ्ग बरालले पोखरेललाई विभागको प्रमुखमा नियुक्त गरेका हुन । पोखरेललाई उपकुलपति बरालले वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेकाे विश्वविद्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा प्रवलराज पोखरेल ।

प्रा खनालले केही दिनअघि राजीनामा दिएका थिए । खनालको राजीनामा स्वीकृत गरी विश्वविद्यालयले पोखरेललाई प्रमुख नियुक्त गरेको हो । सोह्र वर्षअघि पनि सोही विभागको प्रमुख भएका प्रा पोखरेल लामो समयदेखि पत्रकारिता अध्यापनमा क्रियाशिल रहेका छन् ।

विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै प्राध्यापक पोखरेलले राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रको प्रवद्र्धन, प्राज्ञिक उन्नयन र अध्ययन अनुसन्धानका साथै प्राविधिक तथा मानवीय स्रोत, साधनमा राज्यको लगानी वृद्धि हुनुपर्नेमा जोड दिए ।

कोठाको विभाग प्रा खनालको नेतृत्वमा सुविधासम्पन्न भवनमा

विभागबाट राजीनामा दिइ विदा भएका प्रा खनालले आरआर क्याम्पसको एउटा कोठामा सीमित रहेको विभागलाई आफ्नै नेतृत्वमा बातानुकुलितसहितको सुविधा सम्पन्न भवनमा पुर्याएका थिए । त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरिएको थियो ।

विसं २०५७ सालमा त्रिभुवन विश्वविद्यालयले पत्रकारिता तथा आमसञ्चार विषयको स्नातकोत्तर तहको अध्ययन अध्ययापन गराउनका लागि त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्बाट निर्णय गरी विसं. २०५८ सालदेखि पत्रकारिता विषयको स्नातकोत्तर तहको अध्ययन अध्यापन सुरु भएको थियो । प्रारम्भमा विभागको आफ्नै संरचना हुने अवस्था नरहेको हुनाले त्रिविले रत्न राज्यलक्ष्मी क्याम्पसको प्रशासनिक सहयोगमा कक्षाहरू सञ्चालन गरेको थियो ।

विभागको नवनिर्मित भवन परिसरमा वृक्षरोपण गर्दै प्राध्यापक चिरञ्जिवी खनाल ।

विसं २०६७ सालदेखि पत्रकारिता तथा आम सञ्चार विषयमा विद्यावारिधिको प्रारम्भ भएको विभागमा विसं २०७४ देखि दर्शनाचार्य (एमफिल) तथा विद्यावारिधि (पिएचडी)का कक्षाहरू सुरु गरी हालसम्म निरन्तर रूपमा सञ्चालन भइरहेका छन् । विसं २०७३ सालदेखि त्रिविको निर्देशनअनुसार रत्न राज्यलक्ष्मी क्याम्पस परिसरभित्रै केन्द्रीय विभागले छुट्टै प्रशासनिक तथा आर्थिक संरचना बनाई अध्ययन अध्यापनको कार्य अगाडि बढाएको थियो । अहिले विभाग बल्खुको आफ्नै अत्याधुनिक क्यामरा हाउसबाट सञ्चालित छ । यसका लागि प्रा खनालले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १५:३३