२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

प्यूठानमा एमालेका सूर्य थापालाई झन सहज, कांग्रेसले दुर्गा पाैडेलका लागि भोट नमाग्ने

१५ असोज, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाका लागि प्यूठानको प्रतिनिधिसभाको चुनाव झन सहज हुने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्यूठानका नेता प्रा डा गोविन्दराज पोखरेलले राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पाैडेलका लागि भोट नमाग्ने घोषणा गरेका छन ।

उनले सामाजिक सञ्जाल मार्फत नै यस्तो घोषणा गरेका हुन । पोखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन । उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत प्यूठानमा राष्ट्रिय जनमोर्चाको उम्मेदवारका लागि मत नमाग्ने सार्वजनिक घोषणा गरेका हुन । प्यूठानमा पाँच दलीय गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाको दुर्गा पाैडेलको उम्मेदवारी रहने विषयमा सहमति भएको छ ।

पोखरेल गत निर्वाचनमा उनै दुर्गा पाैडेलसँग पराजित भएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन ‘यदि बाहिर आएका गठबन्धनका समाचार सही भएमा म प्युठानी जनताका बीच रुख चिह्नमा पार्टी र पार्टीका उम्मेदवारलाई मात्र मत माग्न आउनेछु, नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन विनम्र अनुरोध गर्दछु।’

स्थानीय तह निर्वाचनमा प्यूठानमा एमालेले ३९ हजार ८७७, कांग्रेसले २१ हजार ५४६, माओवादीले १७ हजार १६३, जनमोर्चाले १३ हजार ६१२ र समाजवादीले एक हजार ४१७ मत पाएका छन् ।

प्रकाशित मिति : October 1, 2022 at 10:04 am