२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सानेपामा कांग्रेस कोइराला पक्षको धर्ना, समानुपातिक उम्मेदवारकाे सूची संशोधन गर्न माग

१२ भदाै, काठमाडाैं । आगामी निर्वाचनका लागि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा सानेपामा धर्ना दिएका छन् ।

आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै कांग्रेसका कोईराला समूहले बुधबार धर्ना दिएका हुन् । पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ । सो समूहले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ ।

यसै विषयमा पार्टीको ध्यानाकर्षण गराउदा पनि उपेक्षा गरिएकाले बाध्य भएर धर्नामा बस्नुपरेको कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले बताए । उनले पार्टीभित्र सवैलाई समान अवसर दिनुपर्ने आफुहरुको धारणा रहेको बताए । आफुहरुको माग सम्बोधन गर्ने सुनिश्चित भए आफुहरुले पार्टीभित्रको बिद्रोहलाई कम गर्दै लैजाने उनको भनाई छ ।

त्यस्तै कांग्रेसका अर्का नेता अजयबाबु शिबाकोटीले पार्टी नेतृत्वले गरेको निर्णय प्रक्रियामा आफुहरुको विरोध रहेको बताए । पार्टीको एउटा पक्षलाई बाहिर राख्ने काम देखिएकाले नेतृत्वलाई ध्यानाकर्षण गराउन दवाव सिर्जना गर्नुपरेको उनले बताए ।

उनीहरुले आफुहरुको बिषय व्यक्तिका लागि मात्रै नभएर समग्र पार्टीको बिषय भएकाले बिहीबारसम्म समानुपातीक सूची सच्चाउने विश्वास व्यक्त गरेका छन् । यता संस्थापन पक्षले भने सवैको सहमतिमा सर्वसम्मत रुपमा नै समानुपातिक सूची तयार गरेको जनाएको छ ।

प्रकाशित मिति : 15:11