एकैदिन दुई पटक एमाले प्रवेश गर्दै हिरण्य भट्टराईले छाडे समाजवादी
११ असोज, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला कमिटीका अध्यक्ष हिरण्य भट्टराईले एकै दिन दुई पटक एमाले प्रवेश गर्दै पार्टी परित्याग गरेका छन । सोमबार दिउँसो ललितपुरमा एमाले महासचिव शंखर पोखरेल र सोमबार राति भक्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उनी पार्टी प्रवेश गरेका हुन ।
अछाममा भट्टराईसहित अधिकांश नेता कार्यकर्ता समाजवादीबाट फर्किएका छन । भट्टराईलाई एमालेमा स्वागत गर्दै महासचिव पोखरेलले नेपालमा धेरै दल हुँदा अस्थिरता हुने गरेको, विदेशी हस्तक्षेप हुने गरेको हुँदा त्यसको अन्त्यका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताए ।
महासचिव पोखरेलले राजनीतिक ध्रूबीकरण एजेण्डाका आधारमा हुनुपर्नेमा जोड दिए । अहिले ध्रूबीकरणकै क्रमका रूपमा देशभर दिनहुँजसो एमालेमा प्रवेशको लहर चलिरहेको उनले बताए ।
एमालेमा फर्किएका नेकपा एसका अछाम जिल्ला अध्यक्ष भट्टराईले नेकपा एसमा लागेर गम्भीर भूल भएको स्वीकार गर्दै उक्त पार्टी कम्युनिष्ट हुनै नसक्ने तथ्यहरू देखेर आफू र सहयोद्धा नेताकार्यकर्ता एमालेमा समाहित भएको स्पष्ट पारे । उनले भने ‘अव समाजवादी केका लागि भन्ने प्रश्नको जवाफ पाउन सकिन्न, त्यहाँ रहेका सवै नेता–कार्यकर्ता एमालेमा फर्कनुपर्छ, एस सुध्रनेवाला छैन ।’
प्रकाशित मिति : 10:06









