७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

पत्रकार बिनु सुवेदीलाई रामधुलाई गर्ने धम्कीमा पत्रकार महासंघको भर्त्सना

७ असोज, काठमाडाैँ । नेपाल पत्रकार महासंघले नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका राष्ट्रिय अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत पत्रकार बिनु सुवेदीला कुटपिट गर्ने भनी धम्काएको भन्दै त्यसमा भत्सर्ना गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ, ‘समाचारको विषयलाई लिएर अनलाइन खबर डटकममा कार्यरत पत्रकार विनु सुवेदीलाई नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका राष्ट्रिय अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।’

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘विनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भनी एमाले कार्यकर्ताबाट गरेको ट्वीटमा अनेरास्ववियु अध्यक्ष बरालले असोज ६ गते बिहीबार कमेन्ट गर्दै जरुरत पर्लाजस्तो छ भनेर धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ ।’

महासंघले पत्रकारलाई  कुट्ने कुरा नगर्न अपिल गर्दै भनेको छ, ‘सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो । तर अभिव्यक्ति स्वतन्त्रताका नाममा एउटा जिम्मेवार व्यक्तिबाट सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम हो । महासंघ यस किसिमको हर्कतको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

प्रकाशित मिति : September 23, 2022 at 3:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/