१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

विशेष सुझाव शोमा ‘नालापानी’को प्रशंसा, कात्तिक ४ बाट प्रदर्शनमा आउने

२ असोज, काठमाडाैँ । तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक चलचित्र ‘नालापानी’ले विशेष शोमा प्रशंसा कमाएको छ । यसै साता काठमाडौँको विश्वज्योति हलमा आयोजित विशेष शोमा उपस्थिति चलचित्रकर्मी तथा अन्य क्षेत्रका व्यक्तिहरुले चलचित्रले उठाएको कथावस्तु, भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, छायांकन, कलाकारको अभिनय, निर्देशकीय पाटोको प्रशंसामा शब्द खर्चिएका थिए ।

फिल्ममा विशेष भूमिकामा समेत अभिनय गरेका बरिष्ठ कलाकार सन्तोष पन्तले ‘नालापानी’ उत्कृष्ट बनेको भन्दै प्रशंसा गरे । फिल्म हेरेपछि आफ्नो राष्ट्रलाई कसरी माया गर्ने भनेर शिक्षा दिने उनको भनाई छ । पन्त भन्छन्, ‘हाम्रो इतिहासको कथा हो ‘नालापानी’ । हाम्रो इतिहास बोकेको फिल्म भएकाले एकपटक हेर्नैपर्छ । यसले नेपालीलाई जगाउँछ ।’

निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले इतिहासिक पृष्ठभूमिमा यसरी फिल्म बनाउनु भनेको चानचुने कुरा नभएको बताए । सीमित साधन स्रोतमा पनि आफ्नो देश बचाउनका लागि हाम्रा पूर्खाले कसरी युद्ध लडेका थिए भन्ने सन्देश फिल्मले दिएको बताउँदै उनले दर्शकहरुलाई एकपटक फिल्म हेर्न आग्रह पनि गरे ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशको भूगोल जोगाउनका लागि हाम्रा पूर्खाले कसरी लडेका थिए भन्ने कुरा फिल्मले देखाएकोमा खुसी व्यक्त गरे । आगामी पुस्ताका लागि ‘नालापानी’ एउटा दस्तावेज बन्ने बताउँदै उनले भने, ‘आगामी पुस्तालाई हाम्रो देश हाम्रा पूर्खाले कसरी बचाएका रहेछन् भन्ने शिक्षा फिल्मले दिनेछ । इतिहासको बारेमा फिल्म बनाउन सहज छैन । एकदमै जोखिम मोलेर फिल्म बनाएकोमा मेरो सम्मान छ ।’

निर्देशक नवल नेपाले पनि फिल्म असाध्धै राम्रो बनेको भन्दै प्रशंसा गरे । ‘हाम्रो पुस्ता र आगामी पुस्ताका लागि हाम्रो इतिहास के हो भनेर बताउन जरुरी थियो । हाम्रो पूर्खाले सिर्जना गरेको नेपालका लागि हाम्रा पिता पूर्खाले कुन हदसम्म लडाईं गरेका थिए भन्ने कुरा थाहा पाउनका लागि ‘नालापानी’ एकपटक हेर्नैपर्छ । आगामी पुस्ताका लागि यो फिल्मले शिक्षा बन्नेछ,’ नेपालले भने ।

गायक राजेशपायल राईले हाम्रा पूर्खाहरु कति बहादुरी थिए भन्ने कुरा फिल्मले देखाएको र आगामी पुस्ताका लागि फिल्म एउटा शिक्षा बन्ने विश्वास व्यक्त गरे । फिल्म हेर्दा माटो र देशप्रतिको माया-सम्मान पाइने उनको भनाई छ ।

हिमालयन टाइगरको रुपमा चिनिने पूर्व नेपाल आर्मी तथा नेपाली रेस्लर खेलाडी भरत बहादुर विसुरालले पनि फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिए । ‘फिल्म एकदमै राम्रो छ । म पनि आर्मीको मान्छे । ११ वर्ष सेवा गरेँ, लडाईं पनि लडेँ । त्यसबेला महिला पुरुषमा राष्ट्रप्रति कति प्रेम थियो भन्ने कुरा फिल्ममा देखाएको छ । अहिलेका मान्छेलाई त्यो शिक्षा हो,’ उनले भने ।

बलभद्र कुँवरले नालापानीमा लडेको युद्धमा फिल्म आधारित छ । फिल्मको विशेष शोमा बलभद्र कुँवरको पुस्ता पनि पुगेका थिए । बलभद्र कुँवरको पाँचौं पुस्ता तथा ‘नालापानीका नायक वीर बलभद्र’का लेखक रामराजा कुँवरले फिल्म समग्र नेपालीका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरे । उनी भन्छन्, ‘फिल्मले शिक्षा र सन्देश दिन्छ । यो फिल्म मेरो किताबमा आधारित भएर निर्माण भएकोमा सबैभन्दा बढी खुसी महसुस गरेको छु । र, किताबलाई न्याय गर्ने काम फिल्मले गरेको छ ।’

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो । चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’का निर्देशक रिमेश अधिकारी हुन् ।

चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर, प्रा। दिनेशराज पन्त, प्रा. डा. सुरेन्द्र केसी, पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण चलचित्रमा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।

राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सह(निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।

प्रकाशित मिति : September 18, 2022 at 8:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/