२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार

१ कात्तिक, काठमाडौँ । बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीमा भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ भएको घटनामा अभिनेता श्रफ सकुशल रहे पनि उनका गाडी चालक र एक रिक्साचालक घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार फुटबल खेलेर घर फर्किने क्रममा जुहूस्थित पुष्पा पार्कनजिकै श्रफ सवार बीएमडब्ल्यू गाडीलाई लक्षित गरी गोली प्रहार गरिएको थियो । दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले गाडीमाथि गोली चलाएका थिए ।

गोली प्रहारबाट श्रफलाई कुनै चोट लागेको छैन । घाइते चालक र रिक्साचालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनापछि मुम्बई प्रहरी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेको छ । प्रहरीले घटनास्थलमा फेला परेका गोलीका खोका तथा अन्य प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको अपराध अनुसन्धान शाखाले घटनास्थल आसपासका निगरानी क्यामेरा (सीसीटीभी) का दृश्य जाँच गरिरहेको छ । प्रत्यक्षदर्शीको बयान र उपलब्ध प्रमाणका आधारमा आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, घटनामा लरेन्स बिश्नोई समूहको संलग्नता रहेको दाबी सामाजिक सञ्जालमा गरिए पनि प्रहरीले त्यसको आधिकारिक पुष्टि गरेको छैन । घटनाको कारण र आक्रमणकारीको पहिचानबारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : October 18, 2026 at 10:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/