१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आन्दोलनको कार्यक्रम फिर्ता लिन ढुवानी व्यवसायी महासंघलाई आयल निगमको आग्रह

२४ भदाै, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । ढुवानी व्यवसायी महासंघले राखेका मागका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको र निगम व्यवस्थापन सकारात्मक रहेको निगमद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रेषित मागहरुका सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समस्या समाधानार्थ आवश्यक पहल कदमी भइरहेको ब्यहोरा अनुरोध छ । निगम सञ्चालक समितिमा तहाँको मागका सन्दर्भमा पटक पटक छलफल भई आवश्यक निर्णय हुने क्रममा रहेको हुँदा अति आवश्यक पेट्रोलियम पदार्थहरुको आपूर्ति तथा बिक्रि वितरणमा अवरोध पुर्याउन तहाँबाट चरणवद्ध रुपमा सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रम आजैका मितिबाट फिर्ता लिनुहुन अनुरोध छ ।’

दशैँ, तिहार लगायतका चाडपर्वहरु सुरु हुने क्रममा रहेकाले आम सर्वसाधारणहरुका लागि अति आवश्यक प्रट्रोलियम पदार्थ आयात ढुवानी तथा विक्री वितरणमा सहज बनाउने कार्यमा सधैझै सहयोग गरिदिन निगमले महासंघलाई अनुरोध गरेको छ । महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने घोषण गरेको थियो भने शनिबारदेखि देशभर ढुवानी रोक्ने जनाएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १७:३३