२० कार्तिक २०८१, मंगलवार | Wed Nov 6 2024

बालेनपछि सुनिता डंगोलको श्वेतपत्र : १०० दिनमा १५ काम, १० योजना सुरुवात

२२ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको केही दिनपछि बुधबार डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ ।

पुराना २४४ वटा विवादमा न्यायिक सुनुवाइ भएकोे र ५१ वटा विवादको किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छन् ।
सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै उनले त्यसले काठमाडौँवासी सँगसँगै रहेर महानगरका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्तभएको बताएकी छन् ।
फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गरेकी उनले भनेकी छन् , ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् । पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिनफोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।

श्वेतपत्रको पूर्णपाठ

पदभार ग्रहणका १ सय दिन र मेरो श्वेतपत्र

–सुनिता डंगोल,

उपप्रमुख, काठमाडौंमहानगरपालिका

नेपालको सबैभन्दा ठूलो र पूरानो महानगर काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर कार्यभार सम्हालेको १ सयदिन पूरा भएको छ ।

सर्वप्रथम, लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगैको स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिका यी १ सय दिनमा काठमाडौँ महानगरवासीबाट प्राप्त साथ, सहयोग, समर्थन र सकारात्मक सुझावलाई अन्तरात्मादेखि नै स्वीकार गर्न चाहन्छु र सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु ।

मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा म पटक्कै विश्वास गर्दिनँ । काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि हामी सबैको साझा सपना हो । यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचितहोइन र हुँदैन पनि । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ । हामीले १ सय दिनमा के गर्‍याैँ भनेर फेहरिस्त सार्वजनिक गर्नु भन्दापनिहामीले जिम्मेवारी सम्हालेपछि काठमाडौँ महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।

म नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भएको कुरा विदितै छ । हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु ।

धेरैले विश्वास र भरोसा गरेको युवा नेतृत्वहरु अहिले काठमाडौँ महानगरमा छन् । त्यसैले हामीले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै छैन । म समावेशी लोकतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगतभन्दा पनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु । हामीले यो १ सय दिनमा ‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ केही सकारात्मक कामको थालनी गरी काठमाडौँ महानगरवासीमा आशाको बत्ती बाल्ने प्रयास भने गरेका छौँ । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौँ । यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन । काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु, वडाका अध्यक्ष तथा सदस्यहरु, काठमाडौँ महानगरपालिकाका कर्मचारी मित्रहरु र महानगरवासीको एकमुष्ठ साथ, सहयोग, समर्थन र केही नयाँ गरौँ, केही नयाँ देखाऔँ भन्ने नेतृत्वको हुटहुटीको एकमुष्ठ प्रतिफलहो भन्ने मैले ठानेकी छु । हामी केही सकारात्मक थालनीको संकेत दिने दिशातर्फ उन्मुख भएका छौँ तर, यो पूर्ण भने होइन । हामीले गर्नुपर्ने धेरै काम छन् । हामीसँग चुनौतीका पहाड छन् । ती पहाडलाई फुटाउँदै गन्तव्यमा पुग्नुपर्नेछ । त्यसैले अहिले नै हामी हतार गर्ने र थोर–बहुत गरेका कामको पुलिन्दालाई फुकाएर त्यसमा लेपन गरी विज्ञापन गरिहाल्नुपर्छ भन्नेमा पनि छैनौँ ।

हामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका योजनालाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ । त्यसैले हामीले १ सय दिनमा गरेका सकारात्मक कामको थालनी र अघि बढाइएका योजनाकाबारेमा सामान्यचर्चा गर्नू अघि आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रम र बजेटको सामान्य चर्चा गर्न चाहन्छु । काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमुखज्यूले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नाराका साथ विभिन्न महत्वपूर्ण नीति तथाकार्यक्रमहरु २०७९÷०३÷०५ गते पेश गर्नुभएको थियो । त्यस्तै मिति २०७९/०३/१० गते म आफैँले आर्थिक वर्ष ०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट प्रस्तुत गरेकीथिएँ ।

बजेट, नीति तथा कार्यक्रममा पनि काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने उद्देश्यलाई समावेश गरिएको छ । बजेट, नीति तथा कार्यक्रमकाबारेमा स्मरण गराउँदै गर्दा काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो चुनावी एजेण्डाप्रति म सजग र सचेत रहेको कुरा यहाँ स्मरण गराउन चाहन्छु ।

मैले चुनावी दौरानमा काठमाडौंको विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीन प्रकारका योजना अघि सार्दै आफ्नो घोषणपत्र सार्वजनिक गरेकी थिएँ । जहाँ ‘स्वच्छ, जीवन्त, सांस्कृतिक नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गरेको कुरा यहाँ पनि व्यक्त गर्न चाहन्छु । मैले मेरो ८ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिकनगर, सामाजिक विकास, डिजिटल काठमाडौं लगायतका विषय समेटेकी थिएँ । नीति तथा कार्यक्रम र बजेटमा लगभग यी सबै विषयहरुलाई समावेश गरेका छौँ जुन कार्यान्वयनको चरणमा रहेको छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका कुरालाई पूर्णतादिने मेरो पहिलो प्रयास रहने छ । यसकालागि सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गरेकी छु ।

यति उल्लेख गरेपछि १ सय दिनमा हामीले गरेका केही सकारात्मककाम र थालनी गरेका योजनाहरुकाबारेमा केहीजानकारी दिनु उपयुक्त होला भन्ने हेतूले संक्षिप्त र बुँदागत रुपमा प्रस्तुत गरेकी छु ।

मेरो क्षेत्राधिकार भित्र परेका एक सय दिनमा सम्पन्न भइसकेका र थालनी गरेका केही सकारात्मककार्यहरुः

१) पूरानो २४४ वटा विवादमान्यायिक सुनुवाई भएकोे र ५१ वटा विवादको किनारा

नेपालको संविधानको भाग १७ धारा २१७ बमोजिम प्रत्येक पालिकामा एक न्यायिक समिति रहने व्यवस्था छ । नगरसभावाट न्यायिक समितिका दुई जना सदस्यहरु निर्वाचित भएपछि मेरो संयोजकत्वमा स्थानीय विवाद निरुपण गर्न न्यायिक समिति सक्रिय भइसकेको छ । संविधानले दिएको अधिकार अनुसार न्यायिक समितिको संयोजकको जिम्मेवारीमा रहेर मैले कार्यभार सम्हालेको १ सय दिनमा पेशीभएका मुद्दामा सुनुवाइको माध्ययमबाट विवाद निरुपण गर्ने प्रक्रिया अन्तर्रगत हालसम्म पुरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई गरी ५१ वटा विवादकिनारा लागेको छ ।

२)फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल

महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्नेलगायतका काम भएका छन् । पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकीनगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यककार्यहरु अघि बढाएका छौँ ।

३) वडास्तरीय महिला सेल गठन

पदभार ग्रहणलगत्तै मेरो चुनावी प्रतिबद्धता अनुसार हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा ‘महिला सेल गठन’ गर्ने पहिलो निर्णय गरेकीथिएँ । सोहीबमोजिम सबै वडामा गठन ‘महिला सेल’ले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिला तथा बालबालिकाहरुका लागि आवश्यक सहयोग गर्नेछ ।

४) सय दिन महानगरवासी सँगसँगै

विभिन्नसंघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममा सहभागी भई महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ । जसले काठमाडौँवासी सँगसँगै रहेर यहाँका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्त भयो । त्यसैले समस्याको समाधानका लागि आवश्यक निर्देशन दिने कार्य गरिएको छ ।

५) आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार

म संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले छोटो समयमा आर्थिक वर्ष ०७९÷८० लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकीकरण निर्धारण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा गहन छलफल तथा विश्लेषण गरी योजना तथा कार्यक्रमा दोहोरोपना नपर्ने गरी आपसी तादम्यता तथा परिपुरकता कायम गर्ने र काठमाडौँ महानगरपालिकाको वस्तुगत अवस्थाको विश्लेषण गरी आवश्यकता पहिचान गरिए वमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यपालिकामार्फत नगरसभामा पेश गरिएको र नगरसभाबाट स्वीकृत भई हाल कार्यान्वयनमा आइसकेको अवस्था छ ।

६) मेलमिलापकर्ता छनौट प्रक्रिया

विवादको समाधान सकेसम्म मेलमिलापको माध्ययमबाट गर्न–गराउन पदवहालीकै दिन दोस्रो निर्णयका रुपमा सबै वडा र केन्द्रमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने उद्देश्यले मेलमिलापकर्ताहरुको सूचितयार गर्न सूचना प्रकाशन भई प्राप्त आवेदनबाट ७७ जना मेलमिलापकर्ताको सूची कार्यपालिकाको बैठकले अनुमोदन गरिसकेको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी साना–तिनाविवाद वडा तहबाटै निरुपण गर्न मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने जस्ता कुरालाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ ।

७) मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास

मानव बेचबिखन ओसारपसार नियन्त्रण नगरस्तरीय समितिको संयोजक रहि मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८ को नियमानुसार वडा नं. ६,७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरी जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको छ । बाँकी वडामा पनि आवश्यक व्यवस्था गर्ने कार्यको थालनी भैसकेको छ ।

८) शिक्षाक्षेत्रमा सुधार

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी विद्यार्थीहरुलाई प्राविधिक सीप, विद्यार्थी लकर कार्यक्रम, सुविधायुक्त शौचालय, पूर्वाधार निर्माण, डिजिटल शिक्षा, सुत्केरी विदामा बसेका महिला शिक्षकको कक्षा व्यवस्थापनको लागि सट्टा कक्षा व्यवस्थापनलगायतका कार्यक्रमहरु अघि सारिएको छ ।

९) इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण

नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्वलाई अन्तर्राष्ट्रियकरण गर्दै यो पर्वको महत्वलाई विश्वसामू पनि परिचित गराउने उदेश्यले म सहितको पहलमा ईन्द्रजात्रालाई भव्य र व्यवस्थित बनाउने प्रयासहरु भएका छन् । त्यसको तयारीका लागि इन्द्रजात्रा व्यवस्थापन समिति लगायत विभिन्न गुठीहरुसँग नियमित रुपमा बैठकहरु बसी तीव्र गतिमा तयारी गर्दैैं आएका छौं ।

१०) नेपाल भाषाको डिजिटल शब्दकोष निर्माण कार्य

स्थानीय भाषाको अध्ययन–अध्यापनलाई निरन्तरता दिंदै नेपाल भाषाका केही डिजिटल शव्दकोष जस्ता सन्दर्भ सामग्री तयार पार्ने क्रममा रहेको छ ।

११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता

कार्यविधि २०७९/०३/१० मितिमा कार्यपालिका बैठकबाट गठन भएको योजना तथा अनुगमन समितिको संयोजक रही सम्पदा तथा पर्यटन विभागमा तहतमा रहेका सम्पदाहरुको पुनर्निर्माणका लागि छनौट भएका १० वटा योजनामध्ये १० वटाकै अनुगमन सम्पन्न भएको छ । त्योसँगै अनुगमनको कार्यलाई निरन्तरता दिइएको छ । सम्पदाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा सकारात्मक प्रयासहरु भएका छन् । हराएका सम्पदाको खोजी गरि पुर्नस्थापना गर्ने लगायतका काम पनि यो बीचमा भएका छन् ।

१२) राजश्व परामर्श समितिको गठन र कार्यान्वयन

राजश्व परामर्श समितिको गठन तदारुकताका साथ गरी आर्थिक वर्ष ०७९/८० का लागि राजस्व सम्बन्धी नीतितर्जुमा गरिनुका साथै राजश्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगर कार्यपालिकामार्फत नगरसभामा पेस गरियो । आन्तरिक आयको विश्लेषण र अनुमान, कर–राजश्व, गैरकर राजश्व, सेवाशुल्क, दस्तुर आदिको दर विश्लेषण गरी राजश्वप्रशासन सुधारका लागि राजश्व ऐन २०७५ मा आवश्यक संशोधन समेतका व्यवस्था यसै समितिमार्फत नगरसभामा पेस गरी स्वीकृत भएबमोजिम कान्र्यान्वयनमा आइसकेको छ ।

१३) पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार

काठमाडौँमहानगरको दीगो विकासका लागि सहकार्यको प्रयास गर्ने हेतूले विभिन्न मुलुकका राजदूतहरु सँगसँगै युएनडीपी, आईएलओ, युनिसेफ, वल्र्ड बैँङ्क र एसियन फाउण्डेशन लगायतका प्रतिनिधिसँग छलफल गरी अनुभव आदन–प्रदान गर्ने, पारस्परिक सम्बन्ध विस्तार गर्ने कार्यको थालनी गरिएको छ ।

१४) अपाङ्गता परिचयपत्र वितरण

काठमाडौ महानगरपालिका सामाजिक सेवाविभागअन्र्तरगत मेरो नेतृत्वमा अपाङ्गता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ । जसमध्ये केही आवश्यक परेका व्यक्तिहरुको म स्वयं घरघरमै गएर उक्त परिचयपत्र वितरण गरिएको छ । शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गता भएका, दृष्टिविहीन, बहिरा, अटिज्मलगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ ।

१५) सहरी व्यवस्थापन

महानगरपालिकाको नगरसभाबाट स्वीकृत नीति, बजेट तथा कार्यक्रम, महानगरपालिकाबाट स्वीकृत भएका कानुन, विभिन्न तहबाट भएका निर्णय समेतका आधारमा महानगर प्रमुखको नेतृत्वमा महानगरपालिकाको सवै जनप्रतिनिधिहरु र कर्मचारीहरुको समेत साथ सहयोगमा अनधिकृत संरचना हटाउने, पार्किङ व्यवस्थापनलाई प्रवद्र्धन गर्ने, बाह्य विज्ञापन सामग्रीलाई नियमन गर्ने, फुटपाथ व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक, सरकारी जग्गाहरुको संरक्षण गर्ने, हरियाली प्रवद्र्धन गर्ने र प्रदुषण घटाउने जस्ता सहरी व्यवस्थापनका कार्यहरुमा उल्लेख्य नतिजा प्राप्त भएको छ ।

थालनी गरिएका केही योजनाहरुः

१) दरबार हाइस्कूल र कन्या मा.विलाई राष्ट्रियस्तरको नमूना विद्यालयको रुपमा विकास गर्ने जस्ता कार्यक्रम पनि अघि बढाइएको छ ।

२) घर जग्गा बहालमा लिनेदिने व्यक्तिहरुका बीच हुने विवादलाई समाधान गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जूमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारवाही अघि बढाएको छ ।

३) करको दायरा वृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजश्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजिकरण भइरहेको छ ।

४) सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागिप्रयासहरु थालनी गरिएको छ ।

५) सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको छ ।

६) न्यायिक समितिको अनुभवआदान–प्रदान गर्ने र असलतथा सफल अभ्यासहरुको अनुसरण गर्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँ महानगरपालिकाले गर्ने भएको छ ।

७) अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन प्रणालीलाई नियमित र संसगत गरी सार्वजनिक सेवालाई थप गुणस्तरीय बनाउने योजना कार्यान्वयनको चरणमा रहेको छ ।

८) गैरसरकारी संघ–संस्थाको कामकारवाहीलाई महानगरपालिकाको नीति, योजना तथा कार्यक्रमको प्राथमिकताअनुकुल बनाउनेतर्फ कारवाही अघि बढाएको छ ।

९) उपभोक्ताहित, संरक्षण तथा मानवअधिकार संरक्षणका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखी नीति तथा योजना तर्जुमा गरिएको छ ।

१०) महानगरपालिकाको योजनाबद्ध र दिगो विकासका लागि यसै आर्थिक वर्षभित्र आवधिक योजनालाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन महानगरपालिकाले आवश्यक कार्य अघि बढाइसकेको छ ।

माथि उल्लेखितकार्यहरु १ सय दिनभित्रै सम्पन गरिएका, थालनी भएका संक्षिप्तविषयहरु हुन् । यसबाहेक पनि अनगिन्ती विषयहरुमा उपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन सक्दछ । त्यसका लागि आममहानगरवासीको चाहना, आवश्यकता र सहभागिता सहित सम्पादन गर्न, गराउन हामी सबै जनप्रतिनिधि तथा कर्मचारीहरुको कर्तव्य हुनेछ । आगामीदिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा कार्य हुने कुरामा विश्वस्त र प्रतिवद्ध छु ।
धन्यवाद ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १३:००