३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

विद्युत प्राधिकरणसहित १७ संस्थालाई १० दिन भित्र कर बुझाउन निर्देशन

२२ भदाै, काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणको सम्पत्ति कर बुझाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १० दिनको समय दिएको छ ।

महानगरपालिकाले मंगलबार प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो । कामपा राजस्व विभागले विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो को जरिवानासहित १० दिनभित्र बुझाउन सम्बन्धित करदातालाई पत्राचारसहित अनुरोध गरेको छ । कामपाले यसअघि पनि ती करदातालाई पटक–पटक पत्राचार गरे पनि उनीहरूले बेवास्ता गर्दै आएका थिए ।

प्राधिकरणबाहेकका संस्थाहरुमा खाद्य कम्पनी, हाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाँचघर, नेपाल चेम्बर अफ कमर्श, कर्मचारी सञ्चय कोष, नेशनल ट्रेडिङ्ग लिमिटेड, नेपाल जामे मस्जिद, कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरवि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, सिविक हस्पिटल, डेन्टल कलेज छन् । उनीहरुले सम्पत्ति करसँगै जरिवाना पनि बुझाउनुपर्नेछ ।

यसरी कामपाले गरेको पत्राचारको बेवास्ता गरे राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुल उपर गरिने पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : September 7, 2022 at 11:34 am