नुवाकोट एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा सिफारिस गरेका उम्मेदवारहरू यी हुन
२१ भदाै, नुवाकोट । नेकपा (एमाले) नुवाकोटको पूर्णबैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको ६ वटा क्षेत्र मध्ये २ वटामा एकल नाम र बाँकी ४ क्षेत्रमा तीन जना भन्दा बढीको नाम सिफारिस गरेको छ ।
सोमबार विदुरमा बसेको पार्टीको जिल्ला कमिटी बैठकले क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा जिल्ला अध्यक्ष बद्री मैनालीको नाम एकल सिफारस गरेको छ । सोही क्षेत्रको प्रदेश ‘क’ मा बलराम आचार्यसहित ८ जनाको नाम प्रदेशसभाका लागि सिफारिस गरेको छ ।
सिफारिस हुने अन्यमा बागमती प्रदेशकै सदस्य मिलन लामा, जिल्ला कमिटीका उपसचिव निलकण्ठ आचार्य, जिल्ला कमिटी सदस्य मनोज उप्रेती, जिल्ला कमिटी सदस्य सुशील खड्का, राजकुमार पण्डित, केदार थापा र गणेश पाण्डे रहेका छन । त्यस्तै प्रदेश ‘ख’मा पूर्णलाल श्रेष्ठको एकल नाम सिफारिस भएको छ ।
यता क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि केशवराव पाण्डे, नारायण प्रसाद खतिवडा, विष्णु लोहनी र माधवप्रसाद तिवारीको नाम सिफारिस भएको छ ।
सोही क्षेत्रको प्रदेश ’क‘ मा एमाले नुवाकोटका उपाध्यक्ष बुद्धि प्रधानसहित ५ जनाको नाम सिफारिस भएको छ । सिफारिसमा पर्ने अन्यमा बागमती प्रदेश कमिटीका सदस्यहरू ठाकुर गजुरेल, रामाशरण प्याकुरेल, नारायण बस्नेत, नारायण घिमिरे र देवचन्द्र भट्ट रहेका छन ।
त्यस्तै प्रदेश ‘ख’मा पार्टी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना, आशामाया तामाङ, विजय लोप्चन, काजिमान डंगोल, हरि अधिकारी, नवराज ओझा र मोदनाथ रिमालको नाम सिफारिस भएको छ । उक्त नामहरू मंगलबार बसेको बागमती प्रदेश कमिटीको बैठकमा रायसहित प्रस्तुत समेत गरिसकेको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले दैनिकीलाई जानकारी दिए ।
प्रकाशित मिति : September 6, 2022 at 7:18 pm









