२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

इन्द्र जात्रा मनाउदै गुठी साउथ अष्ट्रेलिया

२० भदाै, एडिलेड । गुठी साउथ अष्ट्रेलियाले सेप्टेम्वर १० शनिवार इन्द्र जात्रा मनाउने भएको छ | गुठी साउथ अष्ट्रेलियाका अध्यक्ष पन्ना काजी महर्जनले जात्राको मुख्य आकर्षण लाखे, पुलु किसी, कुमारी, सम्य ब:जि र धिमे बाजा हुने बताए । इन्द्र जात्रा अर्थात येँयाः पुन्ही विगत २०१७ देखि एडिलेडमा आयोजना हुदै आएको छ । यस बर्ष ग्ल्यान्डोर कम्युनिटी सेन्टरमा आयोजना हुने छ भने जात्रा विगत दुई बर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन ।

अध्यक्ष महर्जनले प्रवासमा नेपाली धर्म, संस्कृति र पहिचानलाई जिवन्त राख्न र गैर्ह नेपालीहरुलाई चिनाउन आयोजना गरिएको बताए । उनले इन्द्र जात्रा भाद्र शुक्लपक्ष द्वादशी (यँलाथ्व द्वादशी) देखी आश्विन कृष्णपक्ष चौथी(यँलागाः चौथी) सम्म एक हप्ता मनाइने भएकाले एडिलेडमा शनिवार मनाउन लागिएको बताए । उनले यस बर्ष दिनको १२.३० बजेबाट शुरु हुने जात्रामा विगत बर्षहरुमा नेपाली समुदाय बाहेक पनि ठुलो मात्रामा गैर्ह नेपालीहरु पनि सहभागी भएकाले यस बर्ष पनि सहभागीता राम्रो हुने अपेक्षा गरिएको बताए ।

गुठीका अगुवा रज्नेश श्रेष्ठले नेपालमा जाति समुदाय खासले मनाउने पर्वहरु भए पनि प्रवासमा सबै पर्व जात्राहरु साझा रुपमा मनाउदै आएको बताउदै अष्ट्रेलियामा हुर्केको नयाँ पुस्तालाई नेपाली परम्परागत जात्राहरुको वारेमा जानकारी दिन पनि जात्रा गर्न आबश्यक रहेको बताए ।

किम्बदन्ती अनुसार अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धराको व्रत पूरा गर्नका लागि आवश्यक पारिजातको फूल टिप्न पृथ्वीमा आएका थिए । पारिजातको फूल खोज्दै इन्द्र हालको भीमसेनस्थानभन्दा तल रहेको एउटा बँगैचामा पुगे । बहुमूल्यको पारिजातको फूल अनुमति विनै टिप्न खोजेपछि मालीले तान्त्रिक विधिमार्फत् इन्द्रलाई समातेर राजा समक्ष पेश गरे । उनलाई सबैले देख्ने चोकमा एउटा लिंगोमा बाँधेर राखिएको थियो । देवताका राजा इन्द्रले पृथ्वीवासीबाट सजाय पाइरहेका थिए ।

लामो समयसम्म फूल लिन गएको छोरा नफर्किएपछि आमा वसुन्धराले ऐेरावत हात्तीलाई छोरा खोज्न पठाइन् । इन्द्रलाई खोज्न आएको हात्तीले भिडको बीचमा अफ्ट्यारोमा परेका इन्द्रलाई भेट्यो । पछि वसुन्धरा पनि बहुलाको भेषमा आफ्नो छोरा खोज्दै आइन् र छोरालाई बाधेर राखेको देखिन् । काठमाडौं वासीको माग बमोजिम धानबाली समयमै पाक्ने बनाइदिने र मरेकालाई स्वर्ग लैजाने बाचा गरेर इन्द्रलाई छुटाएको र आमा छोरा थानकोटमा रहेको इन्द्रदहमा नुहाएर स्वर्ग गए भन्ने भनाइ छ ।

बसुन्धराको बाचा अनुसार त्यसपछि काठमाडौंका खेतीबारी राम्रो हुन थाले भने मरेकाहरू पनि स्वर्ग जान थाले भन्ने विश्वास छ । रथजात्राको पहिलो दिन दागिं निकाल्ने परम्परा छ । दागिं निकालिसकेपछि दिवंगतहरू स्वर्ग जान्छन् भन्ने बिश्वास रहेको छ ।

प्रकाशित मिति : 13:57