आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति
१२ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त समाचारमा उल्लेखित प्रसङ्गसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् ।
प्रधानन्यायाधीश शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा आफ्नो नामसमेत जोडेर ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस स् फिक्सर इनकमको मोबाइलले खुलाएको प्रमाण १’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति आफू आश्चर्यचकित र स्तब्ध भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसङ्गसँग आफ्नो कुनै संलग्नता नरहेको उनले स्पष्ट पारे। सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान तथा सम्पर्कसमेत नरहेको र आफूले उनीहरूलाई कहिल्यै नभेटेको उनको भनाइ छ।
समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका प्रसङ्गमा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।
शर्माले आधारहीन, झुटा तथा कपोलकल्पित समाचार प्रकाशित गरी जनतामा भ्रम फैलाउने कार्यको भर्त्सना गर्नुभएको छ। साथै, यस्ता समाचारको भ्रममा नपर्न आम नागरिकलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति : October 29, 2026 at 5:14 pm










