५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एकीकृत समाजवादी सर्लाहीका केन्द्रीय परिषद् सदस्यसहित २५ जना एमालेमै फर्किए

१७ भदौ, सर्लाही  । नेकपा एकीकृत समाजवादी सर्लाहीका उपाध्यक्षसहित २५ जना जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार केन्द्रीय परिषद् सदस्यसहित २५ जना जिल्ला कार्य समिति र अन्य जनवर्गीय संगठनका पदाधिकारी नेकपा एमालेमा फर्किएको एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष देवेन्द्र रायले बताए । नेकपा एमालेको पार्टी कार्यालय मलंगवामा आयोजित कार्यक्रममार्फत केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंङसहित पाँच सयको हाराहारीमा नेता कार्यकर्ता पुरानै पार्टीमा फर्किएका विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला कमिटी उपाध्यक्ष देवेन्द्र रायले आफूहरू पुरानै पार्टी एमालेमा फर्किएको घोषणा गरे । सचिव गोविन्द अधिकारी, उपसचिव लिला देवी कोइराला, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटी मेनकुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीलगायत एमालेमा फर्किएका उनको दाबी थियो ।

 

जिल्ला सचिवालयसहित जनवर्गीय संगठनका पदाधिकारी गरी पाँच सय बढी नेता कार्यकर्ता एमालेमा समाहित भएका नेकपा एमाले जिल्ला समितिले जनाएको छ । उनीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमला देवी महतो, केन्द्रीय सदस्य तथा सहइन्चार्ज बद्री न्यौपाने, संविधान सभा सदस्य हरि उप्रेती, प्रदेश कमिटी सदस्य रेवती पन्तलगायतले स्वागत गरे ।

केन्द्रमा पार्टीले आगामी मंसिर हुनलागेको प्रदेश र प्रतिनिधि चुनावमा पार्टीले माहोवादीको चुनाव चिन्हमा चुनाव लड्ने, घोषणा पत्र एउटै बनाउने, पार्टी माओवादी केन्द्रमा विलय गराउने जस्ता निर्णयको तिन बुँदे सम्झौता गरेकोले आफूहरू पुरानै पार्टीमा फर्किएको उनीहरूको भनाई थियो । पार्टीका नेता माधव कुमार नेपाल लगायतले पार्टी फुटको औचित्य प्रस्ट पार्न नसकेको उनीहरूको आरोप छ । फुटको राजनीतिले जनतामा पार्टी प्रतिको वितृष्णा पैदा भएको आफूहरू बिनासर्त मूलघरमा फर्किएको समाजवादीका नेता वाग्लेले दाबी गरे ।

प्रकाशित मिति : September 2, 2022 at 5:57 pm