कांग्रेसको विज्ञप्तिमा एमालेको प्रतिवाद, सांसद सिलवाल माथि किन खनियो कांग्रेस ?
१७ भदाै, काठमाडाैँ । संघीय संसद प्रतिनिधिसभा सदस्य सांसद नवराज सिलवाल विरुद्ध निकालिएको विज्ञप्तिप्रति एमालेका ४ पालिका प्रमुखको आपत्ति जनाएका छन् । ललितपुरको गोदावरी, बागमती, कोञ्जोसोम र महांकालका पालिका प्रमुखले एक विज्ञप्तिमार्फत संयुक्त रुपमा आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेसको आधिकारिक लेटरप्याड प्रयोग गरि राज्यसत्ताको आडमा धम्किपूर्ण भाषा प्रयोग गरि निकालिएको बिज्ञप्ती प्रति ललितपुर क्षेत्र नं १ भित्र पर्ने चार वटै पालिका प्रमुखले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । एमाले गोदावरी नगर कमिटी अध्यक्ष प्रभाकर थापा, बागमती कमिटीका अध्यक्ष नवराज संजेल, महाकांल कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाई तथा कोन्ज्योसोमका कमिटीका अध्यक्ष कविन्द्र लामाले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।
विज्ञप्तिको पूर्णपाठ
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का लोकप्रिय प्रतिनिधि सभा सांसद माननिय नवराज सिलवालको नाम किटान गरि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जस्तो पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गरि राज्यसत्ताको आडमा धम्किपूर्ण भाषा प्रयोग गरि निकालिएको बिज्ञप्तिप्रति नेकपा एमाले ललितपुर १ नं। निर्वाचन क्षेत्र भित्रका ४ ओटै पालिका कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ ।
नेकपा एमाले हाल रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको देशको सबैभन्दा ठूलो राजनितिक दल हो । जनमतबाट नभइ परमादेशबाट गठित यस गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आफ्नो धरातल बुझेर जनमत बाट निर्वाचित भएर निरन्तर संसद र आफ्नो भूगोलका जनताको पक्षमा बुलन्द आवाज उठाइरहेको एक इमान्दार जनप्रतिनिधिको बिरुद्ध गरिरहेको अनेकौ षड्यन्त्र र कपोलकल्पित दुष्प्रचार एवम् योजनाबद्ध आक्रमणको सिलसिला अबिलम्ब रोकी जनमतको सम्मान गर्न आव्हान गर्दछौं ।
विगतमा निर्वाचनको परिणाम आउनेबित्तिकै तत्कालिन समयमा नेपाली कांग्रेस नेतृत्वको सरकारले ग्वेबल शैलीमा यस्तै भ्रामक समाचार देखाएर राज्य सत्ताको चरम दुरुपयोग गरि फसाउने षड्यन्त्र गरेको घटना यस क्षेत्रका जनताले बिर्सिएका छैनन् ।
संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्नुपर्ने जिम्मेवारी रहेको राष्ट्रिय राजनीतिमा लामो सहयात्रा सहकार्य गर्दै आएको दल नेपाली कांग्रेसको यस किसिमको अराजक अराजनीतिक क्रियाकलाप दुःखद एवम् निन्दनीय छ ।
निर्वाचन एक लोकतन्त्रको न्युनतम मुल्यमान्यता हो भने परिणाम जनताको अभिमत हो । गत निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेका उमेद्धवार निर्वाचित भएपश्चात् भएका बिकास निर्माणको कार्य र मानिय नवराज सिलवालले संसद र भुगोलका जनताको सुख दुःखमा निर्वाह गर्नुभएको शसक्त भुमिकाले यस क्षेत्रको जनताको मन जितेको विषय सर्वविदितै छ ।
क। प्रभाकर थापा, अध्यक्ष, गोदावरी नगर कमिटी
क। कविन्द्र कुमार लामा, अध्यक्ष, कोन्ज्योसोम पालिका कमिटी
क। पुरुषोतम हुमागाँई, अध्यक्ष, महाँकाल पालिका कमिटी
क। नवराज संजेल, अध्यक्ष, बागमती पालिका कमिटी
प्रकाशित मिति : 13:51









