१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

इच्छाराजसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

१७ भदाै, काठमाडौं । सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित परिवारका अन्य सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्द सम्पति सुद्धिकरणको कसुर गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

विभागले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरी आर्थिक अपचलन गरेको आरोपमा तामाङ, उहाँकी पत्नी, दुई छोरी, सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उहाँकी श्रीमती बीना श्रेष्ठसहित छ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो । विभागले इच्छाराज तामाङसँग ३ अर्ब ३१ करोड बिगो मागदाबी गरेको छ भने उनको १ कित्ता जग्गा सहित ६९ कम्पनीमा रहेको सेयर जफत गर्न माग गरेको छ ।

यसैगरी सोही प्रकरणमा तामाङकी श्रीमती सिर्जना शाक्यबाट विभागले १ अर्ब ३ करोड बिगो माग गरेको छ भने सवारीसाधन र जग्गा जफत गर्न माग गरेको छ । उनीहरुको छोरी प्रतिक्षाबाट ६ करोड २२ लाख र प्रतिष्ठाबाट करोड १ करोड ८९ लाख बिगो माग गरिएको छ । साथै सम्पूर्ण जग्गा र सेयर जफत गर्न माग गरिएको छ ।

यसैगरी विभागले सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख बिगो माग गरिएको छ भने सम्पूर्ण बैंक मौज्दात, सवारीसाधन र सेयर जफत गर्न माग गरिएको छ । उनकी श्रीमतीको नाममा रहेको ७ कित्ता जग्गा जफत गर्न माग गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा तामाङले सहकारीबाट सर्वसाधारण बचतकर्ताले जम्मा गरेको रकम मनोमानी रूपमा प्रयोग गरी पाँच अर्ब ६७ करोड ५५ लाख रुपियाँ अपचलन गरेको पाइएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार ११:१७