२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

गठबन्धनको भागवण्डा अनिश्चित, माओवादी र समाजवादी ५० सिटमा सीमित हुने सम्भावना

१६ भदाै, काठमाडाैँ । पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि आज कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राससलाई जानकारी दिनुभयो ।

सो विषयमा बैठकमा निरन्तर छलफल भए पनि सङ्ख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।

सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा पाँचै दलका शीर्ष नेताको उपस्थिति थियो ।

नेपाली कांग्रेसका एक नेताका अनुसार माओवादी र समाजवादीले ५० सिटमा चित्त बुझाउने अवस्थामा मात्र पुरै तालमेल हुने र अन्य अवस्था आए शीर्ष नेताको केही क्षेत्रबाहेकमा मित्रवत प्रतिस्पर्धा हुने जानकारी दिए  ।

प्रकाशित मिति : 22:52