१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

२४ घण्टाभित्र कर नतिरे काठमाडौं फनपार्कमा सिलबन्दी गर्ने महानगरको चेतावनी

१५ भदाै, काठमाडौं । काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र कर नतिरे प्रदर्शनीमार्गमा संचालित काठमाडौं फनपार्कमा सिलबन्दी गर्ने चेतावनी दिएको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

पत्रमा भनिएको छ, ‘पटकपटक ताकेता गर्दा पनि कर नबुझाइएकाले २४ घण्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन अनुरोध छ ।’

तोकिएको समय भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ जारी भएपछि फनपार्कमा कर लगाउने अधिकार महानगरपालिकामा आएको थियो । तर, २०७५ सालदेखि महानगरपालिकालाई कर बुझाउनु पर्नेमा काठमाडौं फन पार्कले कुनै पनि विवरण नदिँइ अटेरी गर्दै आएको महानगरको राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जनाउनुभएको छ ।

‘फन पार्कले ७ वर्षदेखि कर तिरेको छैन,’ महानगरका राजस्व विभाग प्रमुख अधिकारीले भने,‘ भोलि बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएर आएका छौं ।’

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १६:२४