१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

तारकेश्वर गाउँपालिकाका अध्यक्ष अधिकारी भ्रष्टाचारको शिखरमाः वडा अध्यक्ष श्रेष्ठ

४ भदौ, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले निर्वाचित भएको तीन महिनामै भ्रष्टाचारको शिखर चढेको भनेर वडा अध्यक्ष सूर्यमान श्रेष्ठ गणेशले आरोप लगाएका छन । सामाजिक सञ्जाल मार्फत उनले केही बिलहरू समेत सार्वजिनक गर्दै यस्तो बताएका हुन । वैशाख ३० को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष अधिकारी र वडा अध्यक्ष श्रेष्ण दुबै जना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

वडा अध्यक्ष श्रेष्ठले गाउँपालिका अध्यक्षले भ्रष्टाचारको शिखर चढ्दै गरेको कुरा आम जनतालाई जानकारी गराउनु आफ्नो कर्तव्य भएको बताएका छन । उनले भनेका छन, ‘नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिकाको जनप्रतिनिधि शिव अधिकारी जनप्रतिनिधिमा निर्बाचित हुनुभएको लगभग ३ महिना हुन लाग्यो छोटो समायमा कमिसनको खेल अनि नियोजित भ्रष्टाचारको शिखर चुम्न सफल हुनुभएकोमा हार्दिक बधाईको साथै एउटा स्वतन्त्र नागरिक अनि एक इमान्दार जनप्रतिनिधिको हैसियतले यो कुरा नेताको लागि भगवानरुपी सोझा जनतासम्म पुराउनु मेरो कर्तव्य माने !’

तस्बिरमा वडा अध्यक्ष श्रेष्ठ र गाउँपालिका अध्यक्ष अधिकारी ।

वडा अध्यक्ष श्रेष्ठले एउटै पार्टीबाट उम्मेदवार भएका जितेका अध्यक्षले हरेक कुरामा कमिसन खाएको भन्दै अध्यक्ष अधिकारीका बारेमा भनेका छन, ‘मेरो आस्था रहेको पार्टीबाट उम्मेद्बारी दिएर मेयर जित्नु भएको उहाँ हरेक कुरामा कमिसनको खेल खेल्नु हुन्छ यस्तो किन भैराको छ भन्दा टिकट किनेर पैसा खर्छ गरेर जितेको हो मैले अर्को पटक उठ्नु छैन उठ्न मन लागे टिकट कसरी ल्याउनु पर्छ मलाइ थाहा छ नुवाकोट कांग्रेस मेरो हातमा छ भन्दै एक जिम्मेवार ब्यक्तिले गैरजिम्मेवार कुराहरु गर्दै हिड्नु कत्तिको जायज होला तपाइ कमिसनको योजना बनाउनु हरेक कुरा जनता सम्म पुराउने मेरो कर्तब्य हो म हच्किने छैन सदस्य किनेर भने पनि बहुमत पुराउछु भन्दै हिड्ने तपाइलाइ सदस्य किन्ने पैसा कहाबट आउँछ ? तपाईं राजा होइन जनताले आफ्नो सेवाको लागि चुनेको प्रतिनिधि हो !’

वडा अध्यक्ष श्रेष्ठले अधिकारीले आफूले कांग्रेससँग टिकट किनेर चुनाव लडेको र अर्को पटक चुनाव लड्ने योजना पनि नभएको भन्दै आफ्नो काममा टिप्पणी नगर्न अनुरोध गर्ने गरेको बताएका छन । उनले अध्यक्ष अधिकारी प्राकृतिक स्रोतको दोहनमा पनि लागेको बताएका छन ।

अध्यक्ष श्रेष्ठले भ्रष्टाचारको केही उदाहारण भन्दै एउटा टेलिभिजन सेट किन्न ५ लाख ९७ हजार रूपैयाँ तिरेर लाखाैँ कमिसन खाएको उल्लेख गरेका छन । उनले वर्षाले खेतीयोग्य जमिन बगाउँदा मतलब नगर्ने अध्यक्ष अधिकारीले एम्बुलेन्स सञ्चालनका लागि बजेटसम्म नदिएको तर जेष्ठ नागरिकहरूलाई भ्रम बाँड्दै हिडेँको श्रेष्ठले बताएका छन ।

अधिकारी सार्वजनिक विदाको दिन गाउँपालिकाको गाडी लिएर पोखरा घुम्न गएको, स्वास्थ्य सामग्री खरिदमा पनि भ्रष्टाचारको सेटिङ गरेको पालिका भवन निर्माणका सम्बन्धमा पनि त्यस्तै गरेको र टायर फेर्नै नपर्ने गाडीको टायर फेरेर कमिसन खाएको उल्लेख गरेका छन । उनले अबको दिनमा हरेक विषयको हिसाब किताब माग्ने भन्दै अध्यक्ष अधिकारीलाई जनताले कमिसन खानमात्र जिताएको हो भन्ने प्रश्न गरेका छन ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार ०९:१४