३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

कांग्रेस नेता प्रदीप गिरि आईसीयूमा

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।

साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि अहिले उनलाई आइसियूमा राखिएको हो।

उपचाररत नेता प्रदीप गिरिलाई भेटेपछि कांग्रेसका विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरी चमत्कारका लागि प्रार्थना गरेको र अरुलाई पनि गर्न आग्रह गरेका छन् । गिरिको स्वास्थ्य अवस्थामा जानकारी लिन शुक्रबार मेडिसिटी अस्पातल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका छन् ।

ललितपुरस्थित मेडिसिटी अस्पतालबाट फर्किंदै गर्दा सामाजिक सञ्जाल ट्वीटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं ।’

गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई अहिले निमोनिया पनि देखिएको छ।

प्रकाशित मिति : August 19, 2022 at 4:42 pm