निहारिकाको मुद्धामा चासो राख्दै राष्ट्रपतिद्धारा कानुनमन्त्री र महान्यायाधिवक्ताकाे ध्यानाकर्षण
२८ साउन, काठमाडाैं । निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन् । शनिबार कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर राष्ट्रपति भण्डारीले निहारिकाको विषयमा चासाे राख्दै ध्यानाकर्षण गराएकी हुन् ।
कानुनमन्त्री र महान्यायाधिवक्तासँग नियमित परामर्श गर्ने क्रममा राष्ट्रपति भण्डारीले निहारिकाको सन्दर्भमा गम्भीरतापूर्वक चासो व्यक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीको चासोपछि कानुनमन्त्री कोइरालाले निहारिकाको विषयलाई सरकारले गम्भीरताका साथ लिएको भन्दै थप पहल गर्ने बताएका थिए ।
मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको पनि जानकारी गराएका छन् । एक साताभन्दा लामाे समयदेखि वसन्तपुरमा अनशनरत निहारिकाले आफ्नाे माग सम्बाेधान नभएपछि शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । शरीरमा पेट्रोल छर्किसकेपछि प्रहरीले रोकेका कारण अप्रिय घटना हुनबाट जोगिएको थियो ।
निहारिकाले आफूमाथि बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्नेलगायतका माग राखेर अनशन बसिरहेकी छन् । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको बताउँदै आएकी निहारिकाले घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः जाँच गरिनुपर्ने माग गरेकी छन् ।
प्रकाशित मिति : 00:31









