विप्लवका प्रवक्ता प्रकाण्डलार्इ भोजपुरबाट रिहा भए लगत्तै फेरि पक्राउ गरेर दाङ पठाइयो
२० भदाै, काठमाडाैँ । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालार्इ जिल्ला अदालत भोजपुरले ६० हजार धराैटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरेर दाङ पठाएको छ । यसअघि नुवाकोटमा रहेका प्रकाण्डलाई मंगलबार काठमाडौंबाट विराटनगरसम्म विमानबाट र त्यहाँबाट गाडीको बाटो हुँदै राति ११ बजे भोजपुर पुर्याइएको थियो ।
१० महिनाअघि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा भोजपुर सदरमुकामबाट गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तत्कालिन एमाले र माओवादी केन्ऽका साझा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटको गुम्बास्थित सकेट बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोप प्रकाण्डमाथि छ । राई हाल प्रदेश १ का मुख्यमन्त्री छन् ।
यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनी सहित ‘विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ ।
प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १९:१९