११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

नुवाकोटको लिखुमा कांग्रेसको रमिता, वडा अध्यक्षमा हारेका लामिछाने अध्यक्षको सल्लाहकार नियुक्त


८ साउन, नुवाकोट । विभिन्न कारणले चर्चामा रहने नुवाकोटमा राजनीतिक दलका नेताहरूको रमिता छरपस्ट हुन थालेको छ । पछिल्लो पटक जिल्लाको लिखु गाउँपालिकामा नेपाली कांग्रेसले रमिता प्रस्तुत गरेको छ । नेपाली कांग्रेसका नेता एवं लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले गैरकानुनी रूपमा वडा अध्यक्षमा हारेका व्यक्तिलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन । त्यो पनि गाउँपालिकाको बैठकबाट निर्णय गरेर तलब खुवाउने गरी ।

श्रेष्ठले वडा नम्बर ६ को अध्यक्षमा वैशाख ३० मा भएको चुनावमा हारेका हरिशरण लामिछानेलाई गाउँपालिका अध्यक्षको राजीतिक सल्लाहकारमा नियुक्त गरेका छन । नयाँ आर्थिक वर्षको गाउँपालिकाको पहिलो निर्णय भन्दै कांग्रेस कार्यकर्ताले वडा अध्यक्षमा हारेका लामिछानेलाई बधाई दिइरहेका छन ।

लामिछानेलाई कति तलब दिने गरी नियुक्त गरिएको भन्ने केही खुलाइएको छैन । तर तलब दिनकै लागि गाउँपालिकाबाट निर्णय गरिएको एक वडा अध्यक्षले दैनिकीलाई जानकारी दिए । सामाजिक सञ्जाल मार्फत बाहिरिएको लामिछानेको नियुक्तिपत्र अनुसार शुक्रबार बसेको लिखु गाउँ कार्यपालिकाको आर्थिक वर्ष २०७९र०६० को प्रथम बैठकको निणर्यअनुसार उनी अध्यक्षको राजनैतिक सल्लाहकारमा नियुक्त भएका छन । कानुनले स्थानीय तहका प्रमुख र उपप्रमुखले सल्लाहकार राख्न पाउने सुविधा दिएको छैन ।

हामीले गैरकानुनी नियुक्तिको बारेमा अध्यक्षसँग जानकारी लिन फोन गर्दा उनको फोन उठेन । पार्टीको निर्देशन अनुसार लामिछानेलाई नियुक्त गरिएको कांग्रेस स्रोतले जनाएको छ । लामिछाने वैशाखको चुनावमा माओवादीका सुमन भण्डारीसँग हारेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार ११:१०