८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेकपा एसका सबै मन्त्री सरकारबाट फिर्ता, नयाँ मन्त्री माधव नेपालले छान्ने

२२ जेठ, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।

६ महिनाका लागि भनेर पठाएका उनीहरुलाई फिर्ता बोलाउँदा कसैले मन दुखाउन नहुने बताउँदै उनले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने बताए । बैठकमा पार्टीबाट मन्त्रिपरिषद् सदस्यका विषयमा समीक्षा हुने र उनीहरुलाई बोलाउने विषयमा छलफल भएको जानकारी दिएका उनले अब कसलाई पठाउने भन्ने विषय टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको जानकारी दिए ।

‘मन्त्रीहरूलाई ६ महिनाका लागि भनेर पठाएका थियौं, अहिले ६ महिनाभन्दा बढी भइसक्यो । उहाँहरूसँग शीर्ष नेताहरूले छलफल गरी समझदारी गर्छाैँ,’ उनले भने, ‘उहाँहरूलाई पार्टीले पठाएको हो । पार्टीले फिर्ता बोलाउँदा आउनुहुन्छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’ एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।

प्रकाशित मिति : June 5, 2022 at 4:06 pm