८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमालेलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपियोः अध्यक्ष ओली

१९ जेठ, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौति थपिएको बताएका छन । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

बैठकपछि एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीलाई उधृत गर्दै भनेका छन, ‘जनताले नेकपा (एमाले) लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’

एमालेले अहिले आफ्ना सबै संयन्त्र मार्फत स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरिरहेको छ । यही क्रममा संयन्त्रले पनि चुनावी समिक्षाका लागि बैठक बोलाएको थियो ।

बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव योगेश भट्टराई संयन्त्रका संयोजक स्थायी कमिटी सदस्य भानु भक्त ढकाल, उपसंयोजक रचना खड्का, पोलिटब्यूरो सदस्य पार्वत गुरूङ र २२ वटा जनसंगठनका अध्यक्ष, इन्जार्ज र सहइन्चार्जको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : June 2, 2022 at 6:51 pm