कांग्रेसको विधान संशोधन मस्यौदा समिति गठन
८ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसले आफ्नो दलको विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गर्नुभएको हो । मस्यौदा समितिलाई आज शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरेको अाजको नेपाल समाचारपत्र दैनिकमा रामकृष्ण चापागाईंले लेखेका छन ।
मुलुकको नयाँ संघीय संरचनाअनुसार संगठनात्मक संरचनाहरुलाई पुनर्संरचना गर्नका लागि पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न गठित ११ सदस्यीय समितिमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडु, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य रहेका छन् ।
गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बिहीबार सभापति देउवाले विधान मस्यौदा समिति गठन गर्नुभएको हो । संविधानअनुसार पार्टीको संगठनात्मक पुनर्संरचना गर्न विधान संशोधन गर्नुपर्ने भन्दै महासमिति बैठक आव्हान गर्न कांग्रेस नेतृत्वलाई दबाब बढिरहेको थियो । पार्टी विधान आवश्यक संशोधन र परिमार्जनका लागि विधान मस्यौदा समितिले पेस गरेको संशोधन र परिमार्जनका बुँदाहरु महासमिति बैठकले पारित गर्नुपर्छ ।
प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ०७:४६