उमा कुङफुमा नेपाललाई तीन स्वर्ण पदक
२ जेठ, काठमाडौं । उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा १५ मे देखि सुरुभएको प्रतियोगितामा सञ्जयराज पुटुवारले २ तथा भूपेन्द्र गुरुङले १ स्वर्ण जितेका हुन् । प्रतियोगितामा जजको भूमिकामा नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा समेत रहेका छन् ।
सञ्जयले छाङ छ्वान र वेपन गरी २ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गरेका थिए । उनले छाङ छ्वानमा ९ दशमलव ७ तथा वेपनमा ९ दशमलव ८ अंक जोड्दै शीर्ष स्थान हात पारे ।
सञ्जयले यसअघि अस्ट्रियामा भएको विश्व च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा ८ दशमलव ९ अंक हासिल गर्दै स्वर्ण चुमे । यसअघि भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए ।
प्रतियोगितामा विभिन्न ११ राष्ट्रका करिब ५५० खेलाडीले सहभागिता जनाएको अध्यक्ष लामाले जानकारी गराए । अन्तर्राष्ट्रिय निर्णायक लामाले डेन्मार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायतका राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन् ।
प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १८:१९