२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपः पहिलो दिनको खेलमा सुवास तामाङको अग्रता

२६ वैशाख, काठमाडौँ । गोकर्ण गल्फ क्लबमा सोमबार भएको सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको सातौं स्पर्धा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो राउण्डमा एमेच्योर सुवास तामाङ दोस्रो स्थानका सुक्रबहादुर राई भन्दा एक स्ट्रोकले अगाडि रहेका छन्।

तेरौं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता सुवासले लिडरबोर्डको शीर्ष स्थान रहने क्रममा आठ-अन्डर ६४ को बोगी-फ्री कार्ड खेले। भर्खरै मात्र इन्डियन टुरमा ६ वटा खेल खेलेर यो प्रतियोगितामा सामेल भएका प्रो शुक्रबहादुर राईले सात-अन्डर ६५ को स्कोर बनाए। एमेच्योर टाशी छिरिङ र प्रो रवि खड्काले पाँच-अन्डर ६७ बनाउँदै तेस्रो स्थानमा बराबरी गरे। नेपालका नं. १ प्रो भुवन नगरकोटी, दिनेश प्रजापति र एमेच्योर सद्भाव आचार्य चार-अन्डर ६८ को स्कोर सहित पाँचौं स्थानमा रहे।

त्यसैगरी तीन खेलाडी कमल तामाङ, रमेश अधिकारी र तीर्थ पौडेल दुई-अन्डर ७० को बराबरी स्कोर खेल्दै आठौं स्थानमा रहे भने एक-अन्डर ७१ को स्कोर बनाएका धनबहादुर थापा उनीहरूलाई पछ्याउँदै छन्। एमेच्योर वाङ्चेन धोन्डुप र सुरेश तामाङ इभन-पार ७२ बनाउँदै प्रो भुवन कुमार रोक्कासँगै बाह्रौँ स्थानमा रहे।

पहिलो स्थानमा रहेका सुवासले अघिल्लो नौमा पाँच-अन्डर ३१ र पछिल्लो नौमा तीन-अन्डर ३३ को स्कोर खेले। पहिलो दुई होलमा पार खेलेका उनले तेस्रोबाट लगातार तीनओटा बर्डी खेले। त्यसपछि सुवासले पाँचौं होलमा इगल खसाले। टर्न लिएपछि भने सुवासले १०औं, १५औं र १७औं होलमा बर्डीज खेले।

यसैगरी सुक्र बहादुरले अगाडिको नौमा तीन-अन्डर ३३ र पछाडिको नौमा चार-अन्डर ३२ कार्ड खेले। उनले टर्न लिनु अघिको तेस्रो, पाँचौं र सातौं होलमा बर्डीज खेले। आफ्नो दसौँ र तेर्हौं होलमा खेलेका बोगीका विरुद्ध उनले १२औं, १४औं, १७औं र १८औं होलमा बर्डीज खेले भने ११औं होलमा इगल खसाले।

एमेच्योर टाशीले आफ्नो बोगी-फ्री राउण्ड खेल्ने क्रममा अघिल्लो नौमा तीन-अन्डर ३३ र पछिल्लो नौमा दुई-अन्डर ३४ जोडे। बर्डी खेलेर दिनको सुरुवात गरेका उनले टर्न लिनु अघि तेस्रो र पाँचौं होलमा सटहरू बचाए। पछाडि नौमा भने टाशीले १५औं र १७औं होलमा बर्डीज कार्ड खेले।

त्यसैगरी रवि खड्काले पहिलो नौमा इभन-पार ३६ र पछाडिको नौमा पाँच-अन्डर ३१ खेले। बोगीबाट राउन्ड सुरु गरेका उनले चौथो र पाँचौं होलको बर्डिज विरुद्ध आठौं होलमा अर्को बोगी थपे। पछाडिको नौ होलमा रविले ११ औं होलबाट लगातार तीनवटा बर्डी कार्ड सँगै १५औं र १७औं होलमा थप दुई बर्डी बनाए।

सूर्य नेपाल प्रा. लि. को प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको यो प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी ४४ गल्फ खेलाडीले भाग लिइरहेका छन्। यस प्रतियोगिता दोस्रो राउण्डपछि कट लागू हुनेछ। शीर्ष २१ प्रोफेसनल र कम्तिमा ६ एमेच्योरहरू अन्तिम दुई राउन्डका लागि छनौट हुनेछन्। कुल रु. ७७५,००० नगद पुरस्कार रहेको यो प्रतियोगितामा उत्कृष्ट तीन खेलाडीले क्रमशः रु. १,३५,०००, रु. ८८,००० र रु. ६५,००० प्राप्त गर्नेछन् भने शीर्ष २१ मा रहेका अन्य खेलाडीले पनि नगद पुरस्कारको आफ्नो अंश प्राप्त गर्नेछन्।

प्रकाशित मिति : May 9, 2022 at 8:33 pm