२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

अफगानिस्तान, ओमन र यमनसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी

२ वैशाख, काठमाडाैँ । नेपाल राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप-२०२३ अघि तीन अभ्यास खेल खेल्ने तयारी गरेको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका लागि तीन अभ्यास खेल खेल्ने तयारी गरेको बताए ।

‘हामीले अभ्यास खेल्नका लागि तीन टिमसँग तयारी गरेका छौं,’ अब्दुल्लाहले भने । नेपालले अफगानिस्तान, ओमान र यमनसँग खेल्ने तयारी गरिरहेको उनले बताए । अब्दुल्लाहले अफगानिस्तानसँग खेल्ने कुरा ९० प्रतिशत पूरा भएको र दुई टिमसँग कुरा चलिरहेको बताए ।

यस्तै टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रस्ताव गरेको र तयारी भइरहेको बताए । यसअघि प्रशिक्षक अब्दुल्लाहले नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताएका छन् । नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको जनाउँदै नेपाली टिम छनोट हुन नसक्ने बताएका हुन् ।

‘हाम्रो समूह निकै बलियो छ । सत्यता यो नै हो । हामी छनोट हुन सक्दैनौं, ‘ शुक्रबार दशरथ रंगशालामा पहिलो तयारीपछि अब्दुल्लाहले भने । यस्तै उनले टोलीको रणनीति तयार भएको र टप फाइट दिने बताए । उनले नेपालमा केही समय अभास गरेर कतारमा बन्द प्रशिक्षण गर्ने र केही अभ्यास खेलपछि कुवेत जाने बताए । अभ्यास क्रममा स्थानीय क्लबसँग समेत अभ्यास हुने भने बताएका छन् ।

एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज (शुक्रबार)बाट नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा आफ्नो प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा कप्तान किरण कुमार लिम्बू र देवेन्द्र तामाङबाहेक २३ खेलाडीको उपस्थिति थियो । दुबै खेलाडी पारिवारिक समस्याका कारण टोलीमा उपस्थित भएका छैनन् ।

नेपाली टिमले बिहानी सत्रको अभ्यास दशरथ रंगशालामा गर्नेछ भने साँझ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा गर्नेछ । छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् ।

नेपाली टोली

गोलकिपरः किरण कुमार लिम्बू (कप्तान) , दीप कार्की, विशाल श्रेष्ठ, रक्षक : अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी, मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई, स्ट्राइकरः विमल घर्तीमगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ

प्रकाशित मिति : April 15, 2022 at 2:45 pm