सिवाईसी नेपाल लघुवित्तको आईपीओ आजदेखि खुल्याे, कति दिने आवेदन ?
२ वैशाख, काठमाडाैँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।
लघुवित्तले निष्काशन गर्न लागेको ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने उक्त आइपीओमा छिटोमा बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
लघुवित्तको चुक्ता पूँजी हाल ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।
प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ०७:१६












