मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा ६ करोड ४० लाख, ईपीएस कति ?
१६ कात्तिक, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य छलाङ मारेको छ। कम्पनीले असोज मसान्तसम्म ६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। याे नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकाे तुलनामा करिब १२८ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने करिब १ प्रतिशत मात्रै बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १२ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी यस वर्ष १२ करोड ८९ लाख ६६ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय लागत गत वर्षको ४ करोड ६४ लाख ९२ हजार रुपैयाँबाट घटेर २ करोड ६६ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ। अर्थात् वित्तीय लागत करिब ४३ प्रतिशत घटेको छ। यस्तै प्रशासनिक तथा अन्य सञ्चालन खर्च पनि १ करोड ८५ लाख ९७ हजार रुपैयाँबाट घटेर ९५ लाख ५० हजार रुपैयाँमा झरेको छ। यो खर्च करिब ४९ प्रतिशतले घटेको हो।
फलस्वरूप कम्पनीको सञ्चालन नाफा ७ करोड ४५ लाख रुपैयाँबाट बढेर ९ करोड ६५ लाख रुपैयाँ पुगेको छ। करअघिको नाफा पनि २ करोड ८० लाख रुपैयाँबाट बढेर ६ करोड ४० लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ रहेको छ भने सञ्चित नाफा १७ करोड १६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.७० रुपैयाँबाट बढेर ८.४२ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२२.५९ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : November 2, 2026 at 1:13 pm










