३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

लामा टेन्डी स्मृति बास्केटबल हुने


२७ माघ, काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता २ फागुनबाट सुरु हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १४ टिम तथा महिला तर्फ ५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए ।

पुरुषतर्फ बंगलादेशको नेभी टिम पनि सहभागी हुने प्रबल सम्भावना रहेको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए । नेभी टिम २०२१ को क्लब च्याम्पियन टिम हो ।

पुरुषतर्फ सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । महिलातर्फ राउन्ड रोविन लिग पद्धतिमा खेल हुनेछ । शीर्ष २ स्थानमा रहनेले उपाधिका लागि पुनः खेल्ने छन् ।

पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोस्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । दुवै समूहका सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

१२ फागुनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १७:५४